खोटाङ र उदयपुर जोड्ने बंसिलाघाटमा तत्कालका लागि बेलिब्रिज लगाएर भए पनि यस क्षेत्रका नागरिकहरुलाई बेल्टारबजारसंग जोड्ने अभिप्रायले पुलशाखा धरानलाई अनुरोध गर्दा बंसिलाघाटमा ७० मिटरको बेलिब्रिज आबश्यक पर्ने तर नेपालमा ५० मिटरसम्मको मात्र बेलिब्रिज रहेको जवाफ पुल शाखा धरानका महानिर्देशक प्रदिप भण्डारीबाट पाएपछि निराश भएका उदयपुर क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य राजन किराँतीले आज चौदण्डीगढी नगरपालिकासंग समन्वय गरेर नगरपालिकाको प्राबिधिक टोलीसहित स्थलगत अध्ययन अबलोकनका लागि आफै बंसिलाघाट पुगेका छन् । चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामासंग छलफलगरी सांसद राई नगरपालिकाका पुर्व मेयर खगेन्द्र राई , नगरपालिकाका बिकास वोर्डका संयोजक पदम राई, वोर्ड सदस्य थुसुङ्ग घिसिङ्ग, नगरपालिका योजना शाखाका प्रमुख ईन्जिनियर सन्तोष राई, स्थानीय समाजसेवी, संचारकर्मी लगायतको टोली लिएर बंशिलाघाट पुगेका थिए ।
अवलोकनकाक्रममा पुल शाखाका प्राबिधिक टोलीले निरिक्षण गरेको स्थानभन्दा केही पर हालको झुलेङ्गो पुल नजिक बेलिब्रिज लगाउन सकिने अनुमान गरेको छ । नगरपािलकाको प्राबिधिक टोलीले त्यसक्षेत्रमा कोशी नदीको चौडाई ५० मिटर आसपास रहेको जनाएको छ । अध्ययनका क्रममा त्यस क्षेत्रमा बेलीब्रिज जडान गर्न सकिने देखाएपछि त्यसैअनुसार नै थप पहल गर्ने सांसद राईले बताएका छन् । उनले आफ्नो मुख्य उदेश्य नै बंशिलाघाटमा बाटोको बिस्तारगरी खोटाङ्ग जिल्लासंग बेल्टार बजारलाई जोड्ने तथा बेल्टार बजार , बिरेन्द्रबजार सिम्ले, साउने सडक स्तरउन्नोती गरेर यस क्षेत्रमा आर्थिक गतिबिधी बढाउने रहेको बताएका छन् । यस बिषयमा प्रदेश र संघीय सरकारसंग पनि पहल गरिरहेको उनको भनाई छ । यस अघि चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा र सांसद राईले छुट्टाछुट्टैरुपमा पत्र पठाएर बेलिब्रिज जडानका लागि अनुरोध गरेका थिए । अब भने संयुक्तरुपमा नै पहल गर्ने सांसद राईले बताएका छन् ।
