चौदण्डीगढी नगरपालिकाको १३ औं नगर सभा तथा आर्थिक बर्ष २०७९/८० को हिउँदे अधिबेशन आज सम्पन्न भएको छ । नगरपालिकाकाको सभा हलमा भएको कार्यक्रममा उप प्रमुख मणिकादेवी दुलालले आर्थिक बर्ष २०७९/८० को बजेटमा छुट्ट्याईएको केही योजनाहरुको संशोधित योजना तथा कार्यक्रम पारित गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले नगरको बिकास र समृद्धिलाई साझा स्वार्थ बनाउनुपर्ने बताउदै शिक्षा,स्वास्थ्य , निर्माण , कृषि लगायतका क्षेत्रमा भैइरहेको कामहरुको निरन्तर अनुगमन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन । यस्तै नगर प्रमुख लामाले आगामी आर्थिक बर्षका लागि आउने बैशाख महिनाबाट नै छलफल गर्ने बताउदै नगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्वन्यवन गर्नमा सहयोग गरेकोमा सभाका सबैलाई धन्यवाद पनि दिएका छन् ।
यसअघि नगर उप प्रमुख मणिकादेवी दुलालले संसोधित कार्यक्रमसहितको प्रतिवेदन पेश गरेकी थिईन् । संसोधित कार्यक्रममा यसअघि वडा नम्बर १ चौदण्डीगढीमा सेन बंशका अन्तिम राजाको मुर्ती स्थापना गर्न छुट्टयाईएको १५ लाख रुपैयाँलाई वडाका बिभिन्न सडकहरु र पर्यटन प्रबद्धनको डिपिआरको तयारीमा खर्च गर्ने गरी संसोधन गरेको छ । त्यस्तै बेल्टार बजार वडा नम्बर ६ र ७ को पेटी ईन्टरलक ईटा ओछ्याउने तथा ढल ब्यबस्थापन गर्नको लागि छुट्टयाईएका ४० लाख रुपैयाँ वडा नम्बर ६ बेल्टार बजारको चौक बरीपरी इन्टरलक ईटा लगाउने तथा बजार क्षेत्रको ढल ब्यबस्थापमा ३० लाख, वडा नम्बर ७ स्थित पशु हटियामा डुंड निमार्ण तथा ब्यबस्थापनका लागि ३ लाख र बजार क्षेत्रमा पार्किङ्ग, नो–पार्किङ्ग, सिग्नल लगायतको ट्राफिक बोर्ड बनाउन ७ लाख रुपैयाँ खर्च गर्नेगरी संसोधन गरेको छ । आजको नगर सभाले संसोधित योजना, कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित गरेको छ ।
यसैबिच चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीले नगरपालिका भएको खर्चको बिवरण माग गरेका छन् । नगरपालिकाकोे १३ औं नगर सभा तथा आर्थिक बर्ष २०७९/८० को हिउँदे अधिबेशनमा बोल्दै वडा अध्यक्ष अधिकारीले नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को बजेटमा बिभिन्न शिर्षकहरुमा लाखै रकम विन्योजित गरेको बताउदै ति शिर्षकहरुमा छुट्टयाईएको बजेटको अबस्था के कस्तो रहेको छ भनी यतार्थ बिवरण सार्वजनिक गर्न माग गरेका हुन् । उनले आर्थिक बर्षको झण्डै ६ महिनाको अवद्यी समाप्त भैसकेको बताउदै वचत भएको रकम बिकास निमार्णमा लगाउनुपर्ने बताएका थिए ।
त्यस्तै आजको नगर सभामा माघ १ गतेदेखी नगरपालिकाका करार कर्मचारीहरुलाई ज्यालादारीमा परिवर्तण गर्ने बिषयको पनि वडा अध्यक्षहरुले बिरोध गरेका थिए । वडा नम्बर ३ का वडा अध्यक्ष पर्शुराम राईले अनुभवी कर्मचारीहरुलाई एक्कासी ज्यालादारीमा परिवर्तण गर्दा राम्रो सन्देश नगएको बताउदै सवै बिधी र प्रक्रिया पुर्याएर नियुक्त भएका कर्मचारीहरु यसअघिकै अबस्थामा राख्नुपर्ने बताएका थिए । वडा अध्यक्ष राईको भनाईमा समर्थन जनाउदै वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी र वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले करार कर्मचारीलाई ज्यालादारी बनाउन नहुने बताएका थिए भने प्रमुख प्रशासकिय अधिकृत चित्रप्रसाद गुराँगाईले दमकल, एम्बुलेन्स लगायतका कर्मचारीहरुलाई पनि ज्यालादारी बनाउदा काममा लगाउन नै अप्ठयारो भएको बताएका थिए । कार्य सम्पादन गर्न आफुलाई अनुभवी कर्मचारीको आबश्यक्ता रहेको बताउदै प्रमुख प्रशासकिय अधिकृत गुराँगाईले कर्मचारी र जनप्रतिनीधिबीच शंकाको बातावरण बनाउन नहुने बताएका थिए । तर नगर प्रवक्ता प्रकाश राउतले माघ २ गतेबाट नै नगरपालिकाले ज्यालादारी कर्मचारीहरुको ठाँउमा नयाँ बिज्ञापन खोली करारमा कर्मचारी राख्ने बताएका थिए । यद्यपी यो बिषयमा कुने निर्णय नभैसकेको नगरपालिका स्रोतले बताएको छ । यसअघि नगरपालिकाले नगरपालिकामा कार्यरत ११९ जना कर्मचारीको करार अबद्यी नथपेर ज्यालादारीमा काममा लगाउने निर्णय गरेको थियो। गत मंसिर २९ गते बसेको नगर कार्यपालिकाको बोर्ड बैठकले पुर्व गाउँ बिकास समिति, जिल्ला बिकास समिति, बेल्टार – बसहा नगरपालिका हुदाँका बखत नियुक्त भएका कर्मचारी, त्यस्तै प्राबिधिक शाखा, रोजगार शाखा, सरसफाई, बिद्युत हेल्पर, मेडिकल अफिसर बाहेकका यसअघि करारमा कार्यरत ११९ जना कर्मचारीहरुको करार अबद्यी नथपी उनीहरुलाई माघ १ गतेबाट ज्यालादारीमा बोलाउने निर्णय गरेको थियो ।
