चौदण्डीगढी नगरपालिकामा सम्पन्न सप्ताहब्यापी आखाँ शिविरमा मोतिबिन्दुको अपरेशन गराएका विरामीहरुको भोली नगर अस्पताल बेल्टारमा आखाँको थप परिक्षण हुने भएको छ । चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक लक्ष्मी प्रसाद चौधरीका अनुसार भोली बिहान ८ बजेदेखी नगर अस्पताल बेल्टारमा पुष १५, १६ र १७ गते बेल्टारबजारस्थित कोभिड अस्पतालमा आखाँको अपरेशन गराएका बिरामीहरुको आखाँको पुनः परिक्षण गरिने बताएका छन् । तिलगंगा आखाँ अस्पताल काठमाडौबाट आएका आखाँको बिशेषज्ञ बिज्ञ डाक्टरहरुले विरामीको दृष्टी चेक गर्ने सह संयोजक चौधरीले बताएका छन् । यसअघि पुष ९ गतेदेखी पुष १७ गतेसम्म संतालित सप्ताहब्यापी मोतिबिन्दु छनौट आँखा शिविरमा २२ सय ३५ जनाको आखाँको परिक्षण गरिएकोमा २७३ जनाको आखाँमा मोतिबिन्दु देखिएको थियो भने २२५ जनाको आखाँको मोतिबिन्दुको सफल अपरेशन गरिएको थियो ।
तिलगंगा आखाँ अस्पताल काठमाडौको सहकार्य र चौदण्डीगढी नगरपालिकाको आयोजनामा पुष ९ गते वडा नम्बर १ को चौदण्डी स्वास्थ्य चौकी, पुष १० गते वडा नम्बर ४ को बसहा स्वास्थ्य चौकी, पुष ११ गते वडा नम्बर ८ को सिद्धिपुर स्वास्थ्य चौकी, पुष १२ गते वडा नम्बर ९ को हडिया स्वास्थ्य चौकी, पुष १३ गते वडा नम्बर ५ को सुन्दरपुर स्वास्थ्य चौकी र पुष १४ गते नगर अस्पताल बेल्टारमा आखाँ परिक्षण गरेका थियो भने पुष १५ , १६ र १७ गते वडा नम्बर ६ सातधारेस्थित कोभिड १९ अस्पतालमा विरामीहरुको अपरेशन गरिएको थियो ।
