चौदण्डीगढी नगरपालिकाका राजनीतिक सल्लाहकार समितिका संयोजक शम्भु पौडेलले राजीनामा दिएका छन् । राजीनामा पत्रमा संयोजक पौडेलले राजनीतिक सल्लाहकार समितिको मर्यादालाई ख्याल नगरी नगरपालिकाका बिकास निमार्ण लगायत अन्य निर्णयहरु गर्दा कुनै सल्लाह नगर्ने र आफु अनुकुल निर्णय कार्यान्वयन गराउने प्रवृती देखिएको जनाउदै जिम्मेवारी बहन गर्न नसक्ने भएकाले स्वेच्छाले राजीनामा पेश गरेको जनाएका छन् । तर चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले नगरपालिकाको वोर्ड बैठकले नयाँ जनप्रतिनीधिहरु निर्वाचित भएर आएपछि जनप्रतिनीधिहरुलाई सघाउनका लागि बिभिन्न समितिहरु गठन गरिएको तर राजनीतिक सल्लाहकार समितिका संयोजक पौडेलले समितीको छुट्टै कार्यकक्ष हुनुपर्ने तथा सेवा सुबिधा पनि नगरपालिकाले उपलब्ध गराउनुपर्ने माग गरेपछि समस्या देखिएको बताएका छन् । नगर प्रमुख लामाले समितीहरु सल्लाह लिनको लागि मात्र गठन गरिएको र नगरपालिकाले त्यस्ता समितिका पदाधिकारीहरुलाई सेवा सुबिधा उपलब्ध गराउन सक्ने प्राबधान नरहेको हुनाले पौडेलले राजीनामा दिएको हुनसक्ने बताउदै पौडेलको राजीनामा नगरपालिकाको वोर्ड बैठकबाट सर्वसम्मतरुपमा स्वीकृत गरिएको जानकारी दिएका छन् ।
गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्य लगायतका दुई तिहाईभन्दा बढी सिटमा एमालेले चुनाव जितेपछि राजनीतिक सल्लाहकार , बिकास, शिक्षा, कृषी, दलित, थारु, जनजाती लगायत बिभिन्न सल्लाहकार समितिहरुको गठन गरेको थियो । नगर प्रमुख कालुमान लामाले पार्टीको निर्देशन बमोजिम सबै समितिहरुमा एमालेका नेता तथा कार्यकर्ताहरुलाई ब्यबस्थापन गर्नेगरी गठन गरेका थिए । त्यसैबेला नै एमाले पार्टीले नगरपालिका चलाउने कि जनप्रतिनीधिहरुले भन्ने प्रश्न राजनीतिबृतमा उठेको थियो ।
