चौदण्डीगढी नगरपालिकाका वडा नम्बर ७ ले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्र बेल्टारमा गत आर्थिक बर्षमा सुचिकृत भएका ब्यक्तिहरुको भेला बोलाई आज रोजगार उपभोक्ता समिति गठन गरेको छ । चौदण्डीगढी नगरपालिकाका रोजगार सेवा केन्द्र बेल्टारका शाखा प्रमुख अर्जन बस्नेतको उपस्थितीमा सुचिकृत ब्यक्तिहरुमध्येबाट नौ जनाको समिति गठन गरिएको छ । समितिको अध्यक्षमा मदन चौकका बद्री थापा, कोषाध्यक्षमा थाना लाईनका चन्द्रकला अधिकारी र सचिवमा श्रीपञ्चमीकी अन्जना राई रहेका छन् ।
वडा अध्यक्ष केशव अधिकारीले यस बर्षका लागि ९ जनाको लागि मात्र कोटा भएता पनि वडामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत ८२ जनालाई नै मिलाएर काममा लगाउने बताएका छन् । सरकारले बेरोजगार ब्यक्तिहरुलाई बर्षमा १०० दिन रोजगारी उपलब्ध गराउने उदेश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा ल्याएको भएपनि वडा नम्बर ७ मा ९ जनाको लागि मात्र पैसा आएको तर सुचिकृत बेरोजगारको संख्या धेरै भएकोले सबैलाई मिलाएर काममा लगाईने वडा अध्यक्ष अधिकारीले स्पष्ट पारेका छन् ।
चौदण्डीगढी नगरपालिका रोजगार शाखाबाट न्यन्तम रोजगार ज्याला उपलब्ध गराउने गरी वडाका प्राथमिकतामा परेका योजनाहरुको निमार्ण तथा मर्मत गर्ने कार्यका लागि प्रधानमन्त्री रोजगार साझेदारी कार्यक्रमबाट आठ लाख पाँच हजार प्राप्त भएको वडा अध्यक्ष केशव अधिकारीले बताएका छन् ।
