चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले १०० घर परिवारको निशुल्क स्थास्थ्य विमा गरिदिने ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले वडामा बसोबास गरिरहेका अति विपन्न, गरीव, दलित, एकल महिला र अपाङ्गता भएका १०० घर परिवारको वडाबाट निशुल्क स्थास्थ्य विमा गरिदिने बताएको छ । वडा कार्यालयले आज एक सुचना जारी गरी वडा नम्बर ७ अन्तर्गत पर्ने १९ वटै टोल बिकास संस्थाहरुलाई टोल बिकास संस्था क्षेत्रभित्र बसोबास गर्ने अति विपन्न, गरीव, दलित, एकल महिला र अपाङ्गता भएकाहरुको विवरण सात दिनभित्र उपलब्ध गराईदिन आग्रह गरेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट वडामा नयाँ जनप्रतिनीधि आएपछिको पहिलो बैठकबाट वडाको खर्चमा १०० घर परिवारको निशुल्क स्थास्थ्य विमा गर्ने निर्णय गरेको र सोही अनुसार बिपन्न नागरिक स्वास्थ्य विमाका लागि तीन लाख पचास हजार छुट्याएर कार्यक्रम अगाडी बढाएको वडा अध्यक्ष केशव अधिकारीले जानकारी दिएका छन् । यस्तै ५ जनाको परिवारको लागि ३५ सय रुपैयाँमा एक लाख बराबरको स्वास्थ्य विमा गर्न सकिने स्वास्थ्य विमा अभिकर्ता तारा गडालले जानकारी दिएकी छिन् ।