चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा आगामी पुष २ गतेदेखी मेयर कप फुटवल प्रतियोगिता संचालन हुने भएको छ । समितिका सचिव अनुपराज खत्रीले दिएको जानकारी अनुसार यहि मंसिर २५ गतेसम्म टिम दर्ता गरिने छ भने मंसिर २७ गते दिउँसो २ बजे खेल तालिका सार्वजनिक गरिने कार्यक्रम रहेको छ । यस्तै पुष २ गते शनिवारबाट चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन गरिने सचिव खत्रीले बताएका छन् । प्रतियोगिताको सबै खेलहरु सोही रंगशालामा हुने जनाइएको छ । नगरको एकदेखी दश नम्बर वडाका खेलाडीहरु मात्र सहभागी हुन पाउने प्रतियोगितामा खेलाडीहरु सम्बन्धित वडाकै हुनुपर्ने बताइएको छ । अर्को वडाको भएमा प्रतियोगितामा सहभागी नगराइने बताउदै खेलकुद सचिव खत्रीले खेलाडी पहिचानका लागि खेलाडीको नागरिकताको फोटोकपी र बसाईसराई भए बसाईसराईको कागजात पेश गर्न भनिएको बताएका छन् । प्रतियोगिता प्रचलित फिफाको नियमानुसार खेलाईने जनाईएको छ । यस्तै प्रतियोगिताको विजेतालाई नगद ५० हजार, ट्रफी , मेडल र प्रमाणपत्र , त्यस्तै उप विजेतालाई नगद २५ हजार, ट्रफी , मेडल र प्रमाणपत्र पुरुस्कार प्रदान गरिने जनाइएको छ । त्यस्तै म्यान अफ दि म्याजलाई नगद एक हजार र उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राईगर, उदयमान खेलाडीलाई नगद पन्ध्र सय रुपैयाँ तथा उच्च गोलकर्तालाई नगद दुई हजार, उत्कृष्ट प्रशिक्षकलाई नगद तिन हजार र अनुशासित टिमलाई मायाको चिनो प्रदान गरिने आयोजकले बताएको छ ।
