उदयपुरको क्षेत्र नम्बर १ मा चुनावी माहोल बन्न सकेन ।

आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको प्रचारप्रसारको समय अन्तिम चरणमा पुगेता पनि उदयपुरको क्षेत्र नम्बर १ मा चुनावी माहोल बन्न सकेको छैन । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र पुर्व शहरी बिकास राज्य मन्त्री मञ्जु चौधरी सहित स्वतन्त्र र बिचिन्न दलका १६ जना नेताहरु चुनावी प्रतिस्पर्धामा रहेको भएता पनि मतदाताहरुमा उम्मेदवारप्रतिको आकर्षण पहिला जस्तो देखिएको छैन । वाली थन्काउने समय भएकोले पनि घरदैलो कार्यक्रममा उम्मेदवारहरुको मतदातासंग भेटघाट हुन मुश्किल भएको छ । उम्मेदवारहरु घरदैलो कार्यक्रममा हुँदा मतदाताहरु भने खेतमा भेटिने गरेका छन भने पार्टीहरुले गर्ने कोण सभा लगायतको कार्यक्रममा पनि मतदाताहरुले कम चासो देखाएको देखिएको छ ।

चुनावी प्रतिस्पर्धामा प्रतिनीधि सभातर्फ १६ जना उम्मेदवारहरु रहेपनि वाम लोक्तान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका डाक्टर खड्का र एमालेकी उम्मेदवार चौधरीबिच नै प्रतिस्पर्धा हुने आकलन गरिएको छ । अन्य पार्टीहरुको संगठन यस क्षेत्रमा कमजोर रहेको र स्वतन्त्र उम्मेदावारहरुप्रति पनि मतदाताहरुले चासोका साथ कुराकानी गरेको नदेखिएपछि यस पटकको चुनावमा पनि मुख्य प्रतिस्पर्धीकोरुपमा कांग्रेसका डाक्टर खड्का र एमालेकी चौधरीबीच नै हुने आकलन गरिएको हो ।

२०७४ सालको आम निर्वाचनमा पनि कांग्रेसका खड्का र एमालेकी चौधरीबिच नै प्रतिस्पर्धा भएको थियो । त्यसबेला खड्काले चौधरीलाई ५४८ मतको झिनो अन्तरले पराजित गरेका थिए । कांग्रेसबाट उम्मेदवार रहेका खड्काले ३३ हजार १४२ मत प्राप्त गरेका थिए भने एमाले र माओवादीको वाम गठबन्धनबाट उम्म्ेदवार रहेकी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेकी थिईन् । तर यस पटकको निर्वाचनमा भने यस क्षेत्रमा कांग्रेस, माओवादी र एकिकृत समाजवादीको लोकतान्त्रिक वाम गठबन्धन रहेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा रहेको रहेको छ । गत स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर हेर्दा उदयपुर क्षेत्र नम्बर १ मा खड्काले सहज जीत हासिल गर्ने देखिएको छ । तर २०५६ सालबाट यस क्षेत्रमा काग्रेसबाट उम्म्ेदवार रहेका र २०६४, ७० र ७४ को आमनिर्वाचनमा विजयी भएका खड्काप्रति मतदाताहरुको पहिला जस्तो आकर्षण भने देखिएको छैन । त्यसमाथी पार्टीकै असन्तुष्ट पक्षबाट हुनसक्ने अन्तरघातलाई रोक्नुपर्ने चुनौती पनि खड्कालाई रहेको छ ।

एता एमालेबाट उम्मेदवार रहेकी मञ्जुकुमारी चौधरीप्रति पनि आम मतदाताहरुको प्रतिक्रिया उत्साहजनक देखिएको छैन । एकताका उदयपुर जिल्लालाई नै लाल किल्लाको रुपमा परिभाषित गर्ने एमालेको नेता तथा कार्यकर्ताहरुलाई चौधरीको श्रीमान लक्ष्मी चौधरीलाई २०४८ सालको आम चुनाव र २०५१ सालको मध्यावती चुनावमा बिजयी गराए पनि यस क्षेत्रका लागि बिकास निमार्णमा कुनै पनि उल्लेखनीय कार्य नगरेको र २०५६ सालको चुनावबाट बिजयी भएका एमाले सांसद सुरेश कुमार कार्की फर्किएर पनि आफ्नो क्षेत्रमा नआएको प्रश्नको जवाफ दिन गार्हो भएको छ । लक्ष्मी चौधरी र सुरेश कुमार कार्कीले देखाएको उदासिनताको परिणाम एमालेले अहिलेसम्म भोग्नु परेको एमालेकै नेता तथा कार्यकर्ताहरुले बताउने गरेका छन् ।

२०५६ सालबाट काग्रेसले खड्कालाई मात्र उम्मेदवार बनाएर एउटा पुस्तालाई नै कार्यकर्तामा सिमित गरेको भन्ने आरोप लगाउने मतदाताहरुले २०४८ र ५१ सालमा श्रीमान र २०७४ पछि श्रीमतिलाई एमालेले पटक पटक उम्म्ेदवार बनाएपछि एमालेमा परिवारवाद हावी भएको बताउने गरेका छन् । यद्यपी मतदाताहरुसंग विकल्प नहुँदा खड्का र चौधरीमध्ये एकले वाजी मार्ने आकलन गरिएको छ ।