सिवाईमा महिलाका लागि ३ महिने आधारभुत ब्युटीसियन तालिम संचालन ।

सिवाईमा महिलाका लागि ब्युटीसियन तालिम संचालन भएको छ । चौदण्डीगढी सामुदायिक सिकाई केन्द्रको आयोजनामा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ स्थित सिवाईका महिलाहरुका लागि ३ महिने आधारभुत ब्युटीसियन तालिम संचालन गरिएको केन्द्रका अध्यक्ष युवराज चौधरीले जानकारी दिनु भएको छ । तालिममा एकल महिला तथा सामाजिक र आर्थिक रुपले पछि परेका महिलाहरूगरी १६ जना सहभागी रहेको वहाँले बताउनु भएको छ । सिवाईमा रहेका बिभिन्न टोल बिकास संस्थाको सिफारिसमा उनिहरुलाई तालिममा सहभागी गराईएको चौधरीको भनाई छ ।


तालिमको आज आईतवार चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै नगर प्रमुख लामाले समुदायको आबश्यकतालाई पहिचान गरेर आबश्यक शिपमुलक तालिम प्रदान गरि स्वरोजगार बनाउने उदेश्यले नगरपालिकाले ब्युटीशियन, टेक्नीशियन, प्लम्बर, डाईवर लगायत विभिन्न प्रकारका तालिमहरु प्रदान गर्ने गरेको जानकारी दिदै यस प्रकारका शिपमुलक तालिमहरुले क्षमताको बिकास भैइ आय आर्जनमा सहयोग पुग्ने भएकोले स्वरोजगार बन्नमा मद्दत पुग्ने बताउनु भएको छ । सो क्रममा नगर प्रमुख लामाले एडभान्स कोर्षको लागि समेत सहयोग गर्ने आश्वासन दिनुभएको छ ।
यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकालले पनि यश किसिमका कार्यक्रमहरु संचालन गर्दा वडा कार्यालयसंग समन्वय गरेर गर्न अनुरोध गर्दै वडा कार्यालयबाट समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।