११ औं संस्करणका नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिता माघ १५ गतेदेखी माघ २२ गतेसम्म संचालन हुने ।

११ औं संस्करणका नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिता यही माघ १५ गतेदेखी माघ २२ गतेसम्म संचालन हुने भएको छ । आयोजक बसाहा क्लबले आज शुक्रवार बर्खेडाँडास्थित नारदआदर्श शिक्षा क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गर्दै ११ औं संस्करणका नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिता यही माघ १५ गतेदेखी माघ २२ गतेसम्म संचालन हुने जनाएको हो । बसहा क्लबका अध्यक्ष दिनेश राईका अनुसार प्रतियोगितामा नेपालका आठ वटा टिमको सहभागिता रहनेछ ।


उदयपुरको चौदण्डीगढी नगरपालिकाका वडा नम्बर ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा प्रतियोगिता संचालन हुने जनाइएको छ । प्रतियोगितामा आयोजक बसाहा क्लबसहित एलएक्स सिटी मोरङ, द यङ ब्रदर्स सुनसरी, नेपाल खेलकुद क्लब रौतहट, एपीएफ क्लब काठमाडौँ, न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरी र झापा–११ फुटवल क्लब झापा सहभागी हुने राईले बताएका छन् । प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँसहित ट्रफ्री, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३ लाख रुपैयाँसहित ट्रफ्री, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिएका छन् । त्यसैगरी उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट फरवार्ड लगायत बिद्यागततर्फका उत्कृष्ट खेलाडीहरुलाई समेत नगद ५ हजार रुपैयाँसहित सम्मान गरिने अध्यक्ष राईको भनाई छ ।
प्रतियोगिता संचालनका लागि झण्डै २४–२५ लाख रुपैयाँ अनुमानित खर्च हुने बताउदै अध्यक्ष राईले चौदण्डीगढी नगरपालिकाले ९ लाख रुपैयाँ, कटारी नगरपालिकाले १ लाख रुपैयाँ, चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ ले १ लाख रुपैयाँ, त्यसैगरी वडा नम्बर ३ ले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् । अहिलेसम्म सरकारी निकायबाहेक अन्य संघसंस्था र ब्यक्तिहरुबाट ८ लाख ८६ हजार रुपैयाँ संकलन भएको राईले बताएका छन् ।
यसपटकबाट गत पुष २३ गते सम्पन्न ७ औं संस्करणको मेयर कप रनिङ्ग शिल्ड फुटवल प्रतियोगितामा उत्कष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई छनौटगरी नगरस्तरीय टिम बनाईने र उनीहरुलाई बसाहा क्लबकातर्फबाट नारदमुनी स्मृती गोल्डकप फुटवलमा खेलाईने जानकारी अध्यक्ष राईले दिएका छन् । छनौट भएका खेलाडीहरुलाई पुष २८ गतेदेखी नै बसाहामै क्लोज क्याम्पमा राखेर प्रशिक्षण गराईरहेको अध्यक्ष राईले बताएका छन् ।
बसाहा क्लबले ऐतिहासिक ब्यक्तित्व, प्रजातान्त्रिक योद्धा एवंम बसाहा झोडा खडागरी बस्ती बसाएका स्वर्गीय नारदमुनी थुलुङ्गको स्मृतीमा गोल्डकपको आयोजना गर्ने गरेको छ भने प्रतियोगितामा नेपाल र छिमेकी देश भारतका समेत प्रतिष्ठित क्लबहरुले सहभागिता जनाउने गरेका छन् ।

पत्रकार सम्मेलनमा वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राई, वडा नम्बर ३ का वडा अध्यक्ष पर्शुराम राई, नेपाल प्रहरीका पुर्व एआईजी टेक प्रसाद राई, नारद आदर्श शिक्षा क्याम्पसका पुर्व क्याम्पस प्रमुख ध्रुवराज राई लगायतले स्वर्गीय नारदमुनी थुलुङ्गको योगदानको चर्चा गर्नुकासाथै प्रतियोगिताको बारेमा प्रकाश पारेका थिए ।