१९ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा उदयपुरमा पनि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सूचनाको हाम्रो अधिकार, सुशासन र विकासको आधार” भन्ने मुख्य नाराका साथमा सरकारी कार्यालयका सूचना अधिकारीहरूबीच सूचनाको हक कार्यान्वयन सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जिल्ला हुलाक कार्यालय उदयपुरको संयोजन र जिल्ला प्रशासन कार्यालय उदयपुरको समन्वयन आज सदरमुकाम गाईघाटमा सम्पन्न कार्यक्रममा दुई वटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिएको थियो । “सूचनाको हक, कानुनी व्यवस्था र सूचना अधिकारीको भूमिका” विषयमा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयले कार्यपत्र प्रस्तुत गरेका थिए भने “हुलाक सेवाको परिचय र सूचनाको हक कार्यान्वयनमा जिल्ला हुलाक कार्यालयको भूमिका” विषयमा हुलाक अधिकृत ललिता देवी खनालले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

जिल्लाका सबै सरकारी कार्यालयका सूचना अधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले सूचना अधिकारीहरूलाई पारदर्शी र सरल रूपमा सूचना उपलब्ध गराउन निर्देशन दिएका थिए । कार्यक्रमले सूचनाको हकको कार्यान्वयनमा सरकारी कार्यालयका सूचना अधिकारीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
