उदयपुरको लिम्चुङ्गबुङ्ग गाँउपालिकाको प्रत्येक शुक्रवार सरकारी कर्मचारीलाई बृक्षारोपण कार्यक्रममा अनिवार्य सहभागी भई श्रमदान गर्नुपर्ने निर्णयमा एमालेले असहमति जनाएको छ । भदौ २ गते सोमबार नेकपा एमाले लिम्चुङ्गबुङ्ग गाँउपालिका अध्यक्ष ज्ञान बहादुर राईले एक विज्ञप्ती जारी गर्दै स्थानीय सरकार अन्तर्गत पालिका भित्र रहेका कार्यरत सरकारी कर्मचारीहरुलाई प्रत्येक शुक्रबार बृक्षारोपण कार्यक्रममा अनिवार्य सहभागी भई श्रमदान गर्नुपर्ने निर्णय र निर्देशनले लिम्चुङ्गबुङ्ग गाँउपालिकाको वडा कार्यालयहरु, विभिन्न शाखा र निकायहरुबाट प्रदान गरिने सेवा सुबिधाहरुमा, सेवाग्राही सर्वसाधारण जनतामा असुविधा र असर सृजना गरेको बताइएको छ ।

विज्ञप्तीमा श्रमदानको विषयलाई जोडेर बृक्षा रोपण अभियान शुरु गर्नु आफैमा स्वागत योग्य रहेको तर पालिकामा संचालन हुने अभियान तथा कार्यक्रमहरुले जनता र समाजप्रति प्रत्यक्ष सहयोग, सामाजिक तथा आर्थिक विकास र सांस्कृतिक संरक्षण हुने जस्ता कार्यहरुमा पार्टीको सधै साथ सहयोग हुने प्रतिबद्धता रहेको जनाउदै नागरिक सार्वजनिक सरोकारलाई वेवास्ता गर्ने निर्णयहरुलाई भने अस्वीकार गर्ने उल्लेख छ । लिम्चुङ्गबुङ्ग गाँउपालिकाले प्रत्येक शुक्रवार बृक्षा रोपण कार्यक्रमका लागि अनिवार्य श्रमदान गर्न पालिका अन्तर्गतका सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई सहभागी गर्ने निर्णयपछि एमालेको धारणा आएको हो । सार्वजनिक सरोकारसंग प्रत्यक्ष सेवा प्रवाहलाई सहज, पारदर्शी, नियमित, जनउत्तरदायी र जवाफदेही बनाउनुपर्नेमा स्थानीय सरकार आफैबाट सेवाग्राहीलाई असहज, अप्ठ्यारो र असुविधाजनक परिस्थिती सृजना हुने किसिमका निर्णयहरु हुनु अत्यन्तै खेदजनक रहेको एमाले लिम्चुङ्गबुङ्गले जनाएको छ ।

