श्रेष्ठका परिवारद्वारा ज्योति जनता बहुमुखी क्याम्पसमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना ।

समाजसेवी नारायण प्रसाद श्रेष्ठका परिवारद्वारा उदयपुर चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ सातधारेस्थित ज्योति जनता बहुमुखी क्याम्पसमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । आज सातधारेस्थित क्याम्पसको सभाहलमा भएको कार्यक्रममा ज्योति जनता बहुमुखी क्याम्पसका ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका समाजसेवी तथा बौद्धिक ब्यक्तित्व नारायण प्रसाद श्रेष्ठका परिवारजनका तर्फबाट स्वर्गीय वुवा अन्तनारायण श्रेष्ठ र आमा विष्णु कुमारी श्रेष्ठको स्मृतीमा २ लाख बराबरको छात्रबृती कोष स्थापना गरिएको हो । अक्षयकोष स्थापनाको लागि पाँच भाई छोराहरु नारायणप्रसाद श्रेष्ठ, गोविन्द श्रेष्ठ, गणेश श्रेष्ठ, रमेश श्रेष्ठ र दिनेश श्रेष्ठ ,त्यस्तै तीन छोरीहरु लक्ष्मी श्रेष्ठ, भगवती श्रेष्ठ र शान्ता श्रेष्ठले रकम प्रदान गरेको बताइएको छ ।

क्याम्पसका अध्यक्ष समेत रहेका श्रेष्ठले बुबाआमाको स्मृतीमा स्थापना गरिएको कोषबाट आउने ब्याजको रकमले गरिव र जेहेन्दार परिवारका बिद्यार्थीलाई छात्रबृती प्रदान गर्नुपर्ने बताएका थिए । अक्षय कोष स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठका माईला भाई गोविन्द श्रेष्ठले आफु जन्मेको, हुर्केको ठाँउ भएकोले समाजका लागि केही सकारात्मक कार्य गर्नुपर्ने दायित्व हुँदा त्यसलाई मध्यनजर गरेर परिवारकोतर्फबाट अक्षयकोष स्थापना गरिएको बताएका थिए । उनले लगातारको संघर्षले जीवनमा सफलता प्राप्त गर्न सकिने भएकाले आफ्नो सपना साकार पार्न निरन्तर लागिपर्नुपर्ने धारणा राखेका थिए । हाल अमेरिकामा बस्दै आएका श्रेष्ठले त्यहाँबाट पनि चौदण्डीगढीको शैक्षिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले आफ्नो र तीन जना दिदीवहिनीको तर्फबाट २५–२५ हजार रुपैयाँ आजीवन सदस्यका लागि पनि क्याम्पसलाई प्रदान गर्ने घोषणा गरेका थिए । श्रेष्ठ परिवारले केही बर्षअघि वडा नम्बर ४ बसहास्थित नारद आदर्श माध्यमिक बिद्यालयमा पनि स्वर्गीय बुमा अन्त नारायण र आमा विष्णु कुमारी श्रेष्ठको स्मृतीमा २ लाख बराबरको छात्रबृती कोष स्थापना स्थापना गरेका थिए ।

यसअघि ज्योति जनता क्याम्पस सातधारेमा क्याम्पस ब्यबस्थापन समितिकी उपाध्यक्ष उर्मिला राईको परिवारको तर्फबाट पनि अमरसिंह (राई सर) को स्मृतिमा १ लाख १ हजार १ सय ११ रुपैयाँ बराबरको छात्रवृत्ति कोष स्थापना गरिएको थियो । (राई सर) को स्मृतिमा स्थापना गरिएको अक्षय कोष क्याम्पसमा पहिलो रहेको उर्मीलाले बताएकी छिन् । यस किसिमको छात्रवृती कोषले गरिव परिवारका विद्यार्थीलाई ठुलो राहत मिल्ने उनको भनाई छ । छात्रबृतीका रुपमा पाउने रकमले शैक्षिक सामाग्री किन्न तथा परिक्षा शुल्क तिर्न लगायतमा सहयोग पुग्ने गरेको राईले बताएकी छिन् ।