नगर प्रवक्ता प्रकाश राउतको संयोजक्तवमा छानविन समिति गठन ।

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी निकासी भएको विषयमा छानवीन गर्न चौदण्डीगढी नगरपालिकाले नगर प्रवक्ता प्रकाश राउतको संयोजक्तवमा ३ सदस्यीय छानविन समिति बनाएको छ । नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बेल्टार बजारस्थित नगरपालिको कार्यालयमा आज बसेको बैठकले नगर प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष राउतको संयोजक्तवमा छानविन समिति बनाउने निर्णय गरेको हो । समितिको सदस्यमा वन तथा वाताबरण समितिका संयोजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राई र नगर पुर्वाधार शाखाका प्रमुख ईन्जिनियर सन्तोष राई रहेका छन् । समितिलाई ३ दिन भित्र छानविनगरी प्रतिवेदन बुझाउन भनिएको छ ।
यसैबिच नगरमा क्रियाशिल विपक्षी दलहरुले आज संयुक्त विज्ञप्ती निकालेर यस विषयमा सत्यतथ्य छानविनको माग गरेका छन् । बिज्ञप्तीमा नियमन गर्ने निकाय स्थानीय सरकार, स्थानीय प्रशासन तथा ठेकेदारसहितको मिलेमतोमा अख्तियार तथा शक्ति र श्रोतको दुरुपयोग गरी आम सर्वसाधारण जनतालाई मुकदर्शक बनाएर अबैध धन्दा गर्ने कार्यप्रति यस नगरमा रहेको सक्रिय राजनीतिक दलहरुको तर्फबाट गम्भिर आपत्ती ब्यक्त गर्दर्छौ साथै यस अबैध कार्यमा सहभागी सम्पुर्ण पक्षहरुलाई कडा कानुनी कारवाही होस् भनिएको छ । बिज्ञप्ती जारी गर्नेहरुमा नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश राई , नेकपा एसका नगर अध्यक्ष विशन विष्ट, त्यस्तै राप्रपाका नगर अध्यक्ष दिलिप थापा र जसपाका नगर ईन्चार्ज तथा जिल्ला उपाध्यक्ष राजेन्द्र राई (अनमिन) रहेका छन् ।
गत मंगलबार अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी निकासीमा संलग्न रहेको आरोपमा १७ वटा टिपर चौदण्डीगढी नगरपालिकाले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको थियो । राष्ट्रिय गौरवको आयोजना निर्माणको नाममा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको सूचनाका आधारमा नगरपालिकाले नेपाल प्रहरीको सहयोगमा १७ वटा टिपर नियन्त्रणमा लिएको थियो । चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ स्थित केशव बहादुर भुजेलको निजी जग्गाबाट ग्राभेलसहितको माटो उत्खनन भइरहेको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय बेल्टारको टोलीले मंगलबार ती टिपरहरू नियन्त्रणमा लिएर थप कारवाहीको लागि नगरपालिकालाई बुझाएको थियो भने हाल ति टिपरहरु सुरक्षाका लागि शसस्त्र प्रहरी बेस क्याम्प बेल्टारमा राखिएको छ ।