विषालु जङ्गली च्याउ खाँदा चौदण्डीगढीमा एकै परिवारका आठ जना बिरामी।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी परेका छन् । वडा नम्बर ९ अजगराका ललकु सदाको परिवार जङ्गली च्याउ खाएर विरामी भएको वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले जानकारी दिएका छन् । राउतका अनुसार जङ्गली च्याउ खाएर सदा परिवार विरामी भएको जानकारी पाउनासाथ उनीहरुको उद्धार गरी उपचारका लागि आधारभुत नगर अस्पताल बेल्टारमा ल्याएको बताएका छन् । विरामी हुनेमा ५५ बर्षिय ललकु सदा, उनकी ८५ बर्षिया आमा गवनी सदा, ६० बर्षिया श्रीमति गिता सदा, ३१ बर्षिया छोरी सन्जु सदा, भाईबुहारी २९ बर्षिया सरिता सदा, दुई भतिजीहरु १० बर्षिया सन्धया सदा र ११ बर्षिया सज्जा सदा रहेका छन् । सदा परिवारले आज बिहान घर नजिकै जङ्गलबाट च्याउ ल्याएर खाएका थिए । च्याउ खाएर सिकिस्त विरामी भएका गवनी सदा, गीता सदा र सरिता सदासहित सबैका प्राथमिक उपचार नगर अस्पताल बेल्टार गरिएकोे थियो भने उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल गाईघाट रिफर गरिएको वडा अध्यक्ष प्रकाश राउतले जानकारी दिएका छन् ।

दयनिय आर्थिक अबस्था रहेका सदा परिवारलाई नगरपालिकाले निःशुल्क उपलब्ध गराएको ३ वटा एम्बुलेन्समा राखेर गाईघाटस्थित जिल्ला अस्पतालमा पठाइएको नगर स्वास्थ्य शाखा उप प्रमुख हिमालय पौडेलले जानकारी दिएका छन् ।