चौदण्डीगढी नगर शिक्षा शाखाको प्रयासमा संस्थागत बोडिङ्ग स्कुलमा अध्ययनरत ५ सय २२ जना बिद्यार्थीलाई पुर्ण छात्रबृती ।

चौदण्डीगढी नगर शिक्षा शाखाको प्रयासमा संस्थागत बोडिङ्ग स्कुलमा अध्ययनरत ५ सय २२ जना बिद्यार्थीले पुर्ण छात्रबृती पाएका छन् । नगरको शिक्षा स्थितीलाई ब्यबस्थित गर्न योजनाबद्धरुपमा कार्य गरिरहेको चौदण्डीगढी नगर शिक्षा, युवा तथा खेलकुद शाखाले संस्थागत बिद्यालयहरुले प्रदान गर्ने गरेको छात्रवृतीलाई पारदर्शी बनाउदै ५ सय २२ जना बिद्यार्थीलाई सत प्रतिशत छात्रबृती दिलाउन सफल भएको हो । यस अघि संस्थागत बिद्यालयहरुले मनोमानीढंगबाट प्रदान गर्ने गरेको छात्रबृतीलाई नगर शिक्षा शाखाले ब्यबस्थित गरेको हो ।

नगर शिक्षा शाखा र संस्थागत बिद्यालय संचालकबीच भएको सहमति अनुसार १० प्रतिशत पुर्ण छात्रबृती दिने सम्झदारी अनुसार शैक्षिक शत्र २०८२ का लागि संस्थागत बोडिङ्ग स्कुलमा अध्ययनरत ५ सय २२ जना बिद्यार्थीले पुर्ण छात्रबृती पाएको नगर शिक्षा शाखाका शिक्षा अधिकृत सुरज कार्कीले जानकारी दिएका छन् । यस बाहेक बार्षिक परीक्षामा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीले स्वतः बिद्यालयको नियमानुसार छात्रबृति पाउने कार्कीले स्पष्ट पारेका छन् । शिक्षा अधिकृत कार्कीका अनुसार साउन ११ गते बसेको नगर शिक्षा समितिको बैठकको निर्णानुसार ५ सय ९६ जना बिद्यार्थीले छात्रबृतीका लागि आवेदन दिएकोमा विभिन्न मितिमा बिद्यार्थीहरुसंगको प्रत्यक्ष अन्तवार्ताबाट ५ सय २२ जना छनौट हुन सफल भएका छन् । केही बिद्यालयले निर्धारित कोटाभन्दा पनि बढी बिद्याथीलाई छात्रबृती दिएकाले छात्रबृती पाउने बिद्यार्थीको संख्या करिव १२ प्रतिशत पुगेको कार्कीले बताएका छन् ।

नगर शिक्षा शाखाले संस्थागत बिद्यालयहरुलाई ऐन नियम अनुसार कडाई गरेपछि अहिले त्यहाँ कार्यरत शिक्षक कर्मचारीको तलव बैकिङ्ग प्रक्रियाबाट भुक्तानी गर्ने गरिएको छ भने मनोमानीढंगले छात्रबृती वितरण गर्ने यसअघिको तौरतरिकालाई पनि अंकुश लगाएको छ । नगरमा २० वटा संस्थागत बिद्यालय संचालनमा रहेको छ । जहाँ ४ हजार ३ सय ६८ जना बिद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले यसअघि सामुदायिक बिद्यालय तथा क्याम्पसमा अध्ययनरत १०५ जना बिद्यार्थीहरुलाई समेत छात्रबृती वितरण गरेको थियो । सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई ७ हजार र क्याम्पसमा अध्ययनरत बिद्यार्थीलाई जनही १२ हजार रुपैयाँ छात्रबृती रकम उपलब्ध गराएको थियो । २०७९ सालको स्थानीय तह निर्वाचनबाट नगरमा एमाले नेतृत्वको सरकार बनेपछि नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको छ ।