२ बैशाख २०८२ , सन्तोष कुमार रौनियार…
उदयपुरको बेल्टार बजारका युवाहरुले नयाँ बर्ष २०८२ को स्वागत साङ्गितिक कार्यक्रमका साथ गरेका छन् । नयाँ बर्षको पहिलो दिन बैशाख १ गते हिजो बेल्टार बजारस्थित लाफा चौक चतरा लाईनका युवाहरुले मेला महोत्सव बाहेक सम्भवत पहिलो पटक भव्यरुपमा साङ्गितिक कार्यक्रमको आयोजना गरी नयाँ बर्षलाई स्वागत गरेका हुन् ।
लाफा चौक चतरा लाईन युवा समुहको आयोजनामा भएको कार्यक्रममा स्थानीय गायक, गायिका तथा संगीतकार र नृत्यकारले ठुलो स्टेजमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा चौदण्डीगढी नगर गानका गायक शशीचन्द्र राई , भोइस अफ नेपालका सहभागी दिपक गजमेर, उदयपुर आईडल सन्जिना राई , भोईस अफ किड्सकी सहभागी एलजिना राई, बियानो म्युजिक एकेडेमीका कलाकार तथा उदयपुर डान्स स्टुडियोका कलाकारहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । स्थानीय स्तरका कलाकार , गायक, गायिका मात्र समाबेश गरेर स्थानीय स्तरमा आयोजना भएको यो पहिलो स्टेज कार्यक्रम रहेको बताईएको छ ।
पछिल्लो समय चौदण्डीगढी नगरपालिका क्षेत्रका युवाहरु पनि गीत संगीतको क्षेत्रमा अगाडि आईरहेको अबस्थामा यस किसिमको कार्यक्रमले उनिहरुलाई एउटा प्लेटफर्म प्रदान गर्ने र उनिहरुलाई समाजप्रति उत्तरदायित्व बनाउने बिश्वास गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कालुमान लामा, पुर्व नगर प्रमुख खगेन्द्र राई, वडा नं. ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का लगायत ठुलो संख्यामा बेल्टार बजारबासीको उपस्तिथि रहेको थियो ।
