२९ चैत्र २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज एकै दिन दुईवटा बाटोको कालोपत्रे कार्यको शिलान्यास गरिएको छ । नगर प्रमुख कालुमान लामाले वडा नम्बर ६ र वडा नम्बर ५ मा हुने बाटो कालोपत्रे कार्यको आज छुट्टाछुट्टै शिलान्यास गरेका छन् । नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत वडा नम्बर ६ को सिवार्नीस्थित लक्ष्मी थापाको घरदेखी पुर्व कालिका माध्यमिक बिद्यालय जाने बाटो र वडा नम्बर ५ स्थित मावि सिवाईदेखी साना किसान सहकारीसम्म हुने सडक कालोपत्रे कार्यको शिलान्यास गरेका हुन् । दुबै सडक निमार्ण कार्यको जिम्मा चौदण्डीगढी कन्सट्रक्शन बसहाले पाएको छ भने दुवै सडक आगामी जेठ २५ गतेसम्म कालोपत्रे भैसक्नेगरी सम्झौता भएको नगर पुर्वाधार तथा योजना शाखाका प्रमुख ईन्जिनियर सन्तोष राईले जानकारी दिएका छन् ।
चौदण्डीगढी कन्सट्रक्शन बसहाले वडा नम्बर ६ को सिवार्नीस्थित लक्ष्मी थापाको घरदेखी पुर्व कालिका माध्यमिक बिद्यालय जाने बाटो, वडा नम्बर ५ स्थित मावि सिवाईदेखी साना किसान सहकारीसम्म हुने सडक कालोपत्रे, वडा नम्बर ३ स्थित आमसाल स्कुलवारी कल्भर्ट निमार्ण र वडा नम्बर ८ स्थित पंडित टोलदेखी वडा कार्यालय जानेबाटो स्तरोन्नती तथा कल्भर्ट निमार्ण कार्यको जिम्मा भ्याटसहित ४८ लाख ८५ हजार रुपैयाँमा पाएको ईन्जिनियर राईले बताएका छन् । यस बर्ष नगरपालिकाबाट मात्रै संघ सरकार, प्रदेश सरकार र नगरको आन्तरिक बजेटबाट नगरमा ६ किलोमिटरभन्दा बढी सडक कालोपत्रे भैरहेको ईन्जिनियर राईले जानकारी दिएका छन् । उनले चालु आर्थिक बर्षमा नगरपालिकाको आन्तरिक बजेटबाट नगरस्तरीय योजना अन्तर्गत वडा नम्बर १० स्थित हडिया बजारदेखी पुर्व जनता माविसम्मको सडक, वडा नम्बर ४ स्थित त्रिशक्ती टोल हुदै कवीसरको घर हुदै कालीखोलासम्मको सडक, त्यस्तै वडा नम्बर २ स्थित गिरिजा चौकदेखी सिंहदेवी मावीसम्मको सडक, वडा नम्बर ९ स्थित राधाकृष्ण मन्दिरदेखी लालभित्तेसम्मको सडक र वडा नम्बर ५ स्थित वडेरुवा खोलादेखी जुटपानी जानेबाटोसम्मको सडक कालोपत्रे भै सकेको बताएका छन् । यो पाँचवटा सडक निमार्णको ठेक्का भने बेल्टारे निमार्ण सेवा बेल्टारले लिएको थियो । पाँच वटा बाटोको एक करोडको ठेक्का बेल्टारे निमार्ण सेवाले भ्याटसहित ६६ लाख ३७ हजारमा लिएको राईले बताएका छन् । नगरपालिकाले नगरको दशवटै वडामा सडक कालोपत्रे गर्नका लागि नगरस्तरीय योजना अन्तर्गत प्रत्येक वडालाई विस–विस लाख रुपैयाँ विनयोजन गरेको थियो । नगरस्तरीय योजना अन्तर्गत प्रत्येक वडामा करिव ३ सय– ३ सय मिटर सडक कालोपत्रे भएको छ । यस्तै वडा नम्बर १ स्थित चारेघरेदेखी वडा कार्यालयसम्म जाने सडक ढलानको लागि पनि ठेक्का लागि सकेको जानकारी ईन्जिनियर राईले दिएका छन् ।
यस बाहेक नगरमा संघीय सरकारको समपुरक बजेटबाट वडा नम्बर ४ स्थित कुसुमचौरी मकम डाँडा २ किलोमिटर सडक, त्यस्तै प्रदेश सरकारको समपुरक बजेटबाट वडा नम्बर ६ स्थित कमलध्वज राईको घरदेखी थानपोखरी जाने करिव १ किलोमिटर सडक र वडा नम्बर ४ स्थित बर्खेडाँडा बसहाथान करिव १ किलोमिटर सडक पनि कालोपत्रे भएको छ । बर्खेडाँडा बसहाथान सडक बेल्टारे निमार्ण सेवाले १ करोडको काम ६४ लाख ४३ हजार रुपैयाँमा गरेको हो भने कमलध्वज राईको घरदेखी थानपोखरी जाने सडक बेल्टारस्थित सा«ङताङ्गे निमार्ण सेवाले ५९ लाख ५५ हजार रुपैयाँ र कुसुमचौरी मकम डाँडा वारा जिल्लास्थित सिदार्थ निमार्ण सेवाले १ करोड २२ लाख ७२ हजार रुपैयाँमा निमार्ण गरेको हो ।
यस्तै यस बाहेक पनि वडा नम्बर ६ , वडा नम्बर ७ र वडा नम्बर ५ मा संघ र प्रदेश सरकारको योजनामा थप सडकहरु कालोपत्रेको कार्य भै रहेको छ । वडा न्मबर ५ को सिवाई सुन्दरपुर सडक खण्डको सुन्दरपुर, वडा नम्बर ६ को कालीखोला – औतारीथान –बेल्टार बजार हुदै वडा नम्बर ८ को कालीटार –हिलेखोला सडक, वडा नम्बर २ लामेचौरी – माडीबास – बुद्ध चौक सडक, वडा नम्बर ६ कै खम्बु किराँती चोकदेखी नयाँ बस्ती सडक , वडा नम्बर ७ को बेल्टार बजारदेखी वडा नम्बर ८ विरेन्द्र बजार सडक पनि कालोपत्रे हुदैछ । समग्रमा यस आर्थिक बर्षमा नगरपालिका, प्रदेश सरकार र संघ सरकारको बजेटबाट नगरमा १० किलोमिटरभन्दा बढी सडक कालोपत्रे हुने नगर भौतिक पुर्वाधार तथा योजना शाखा प्रमुख सन्तोष राईले जानकारी दिएका छन् । नगरपालिकाले यस बर्ष सडक पुर्वाधारमा जोड दिएको छ भने नगरले आफ्नै डोजर, टिपर र रोलर खरिद गरी नगरको सबै ग्रामीण सडकको स्तरोन्नती गर्ने योजना बनाएको नगर प्रमुख कालुमान लामाले बताएका छन् ।
