गाविस खानेपानी सरसफाई उपभोक्ता समितिको बिधान पारित ।

२२ बैशाख २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाकै सबैभन्दा पुरानो खानेपानी योजना रहेको गाविस खानेपानी सरसफाई उपभोक्ता समितिले समितिलाई बैधानिक तवरले संचालन गर्न बिधान मस्यौदा निमार्ण गरी उपभोक्ताको भेलाबाट पारित गरेको छ । आज बेल्टार बजारस्थित वडा नम्बर ७ को कार्यालय प्रारंगमा भएको आम भेलाले बिधान पारित गरेको हो । बि.स. २०३५ सालमा अमेरिकी सहयोग संस्था युनिसेफको लगानी तथा स्थानीय बासिन्दाको पहलमा निमार्ण भएको संस्थाको बिधान नभएकाले नियम संगत अनुसार संचालन हुनसकेको थिएन ।साविकको बेल्टार, सिद्धिपुर, चौदण्डी गाविसमा सार्वजनिक धाराहरुको माध्यमबाट स्वच्छ खानेपानी वितरण गरिरहेको योजना लामो समयदेखी जिर्ण अबस्थामा संचालनमा रहेको छ । योजनाले वितरण गरेको सार्वजनिक धाराहरु ब्यक्तिले कब्जा गरेका छन् भने कतिपय धाराहरु हराईरहेको अबस्था छ ।

योजनालाई ब्यबस्थित र बैधानिक तवरले संचालन गर्न कानुन ब्यबसायी कृष्ण बहादुर खत्रीको संयोजक्तवमा बिधान निमार्ण गरिएको थियो जसलाई आजको भेलाले पारित गरेको छ । समितिकी अध्यक्ष मधुकला राईको अध्यक्षता भएको भेलाले ३ बर्षे कार्यकाल रहने गरी ११ सदस्य कार्यसमिति र ७ सदस्य सल्लाहकार समिति गठन गर्न सकिने , त्यस्तै वडा नम्बर १, २,६,७ र ८ नम्बर वडाका वडा अध्यक्षहरुलाई पदेन सदस्य तथा नगर प्रमुखलाई संयोजक बनाउने गरी बिधान निमार्ण गरेको छ ।

भेलालाई सम्बोधन गर्दै वडा अध्यक्षहरु सिताराम राई, हरि बहादुर खड्का, अम्बर बहादुर खड्का, केशव अधिकारी र भगनाथ मगरले मुहानको संरक्षण गर्नुपर्ने, वितरण प्रणालीलाई ब्यबस्थित गर्नुपर्ने भएकोले वडाहरुले केही बजेट सहयोग गर्ने प्रतिबद्धता जनाउदै नगरपालिकाबाट पनि योजनाको लागि बजेट विनयोजनमा पहल गर्ने जनाएका थिए । भेलालाई पुर्व गाविस अध्यक्ष राजेन्द्र कटुवालले सम्बोधन गर्दै बेल्टार बजारलाई बजारीकरण गर्न खानेपानी योजनाले महत्वपुर्ण भुमिका खेलेकोले यस्को ईतिहासलाई बचाउनुपर्ने धारणा राखेका थिए । यस अघिको कार्यसमितिका रहेकाहरुले आर्थिक हिनामिना गरेकोले त्यस्को छानविन गर्नुपर्ने, हराएका धाराहरुको खोजी गर्नुपर्ने लगायतको बिषय पनि भेलामा उठेको थियो ।