चौदण्डीगढीमा भोलीदेखी कक्षा ८ को ग्रेडबृद्धी परीक्षा संचालन हुदै ।

२१ बैशाख २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा भोली (शनिवार)देखी कक्षा ८ को ग्रेडबृद्धी परीक्षा संचालन हुदैछ । चौदण्डीगढी नगरपालिकामा संचालित कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजा निरासाजनक भएपछि नगर शिक्षा समितिले ग्रेड बृद्धीका लागि पुरक परिक्षा संचालन गर्ने निर्णय गरेको थियो । नगर शिक्षा समितिको चैत्र २६ गते बसेको बैठकले गत चैत्र ४ गतेदेखी १० गतेसम्म संचालित कक्षा ८ को नगर स्तरीय परीक्षाको नतिजामा एनजी (नन ग्रेडिङ्ग) आएका बिद्यार्थीहरुलाई यस पटकका लागि मात्र ग्रेड बृद्धी परीक्षामा सहभागी हुने मौका दिने निर्णय गर्दै बिद्यार्थी फेल भएको सबै विषयमा पुरक परीक्षा संचालन गर्ने निर्ण गरेको थियो ।

नगरपालिकाले गत चैत्र ४ गतेदेखी १० गतेसम्म १४ वटा सेन्टरमा संचालन गरेको कक्षा ८ को परिक्षामा सामुदायिक सरकारी बिद्यालय २९ र संस्थागत बोडिङ्ग स्कुल १३ वटा गरी जम्मा ४२ वटा बिद्यालयका ९८१ जना बिद्यार्थी सहभागी थिए । जसमा संस्थागत बिद्यालयका २०८ जनामध्ये १४९ जना, ७१.६३ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका थिए भने सामुदायिक बिद्यालयका ७७३ जनामध्ये २३२ जना ३०.०१ प्रतिशत बिद्यार्थी मात्र उत्तिर्ण भएका थिए । २९ वटा सामुदायिक बिद्यालयमध्ये ८ वटा बिद्यालयबाट एक जना पनि बिद्यार्थी उत्तिर्ण भएका थिएनन् भने धेरै बिद्यालयबाट १ जना मात्र उत्तिर्ण भएका थिए । ६ सय बिद्यार्थी फेल भएपछि नगर शिक्षा समितिलाई पुरक परिक्षा लिन दवाव परेको थियो ।दवावकाबीच नगर शिक्षा समितिले बैशाख २२ गतेदेखी बैशाख २८ गतेसम्म पुरक परिक्षा लिने तालिका प्रकाशित गरेको थियो । जस अनुसार भोली पहिलो दिन गणित बिषयको परीक्षा संचालन हुने भएको छ भने बैशाख २३ गते कम्प्युटर, बैशाख २४ गते सामाजिक, बैशाख २५ गते बिज्ञान, बैशाख २६ गते अंग्रेजी, बैशाख २७ गते नेपाली र बैशाख २८ गते स्वास्थ्य बिषयको परीक्षा संचालन हुनेछ ।

परीक्षा बिहान ७ः३० बजेबाट शुरु हुने जनाइएको छ । परीक्षा केन्द्र बेल्टार बजारस्थित ज्योति माध्यमिक बिद्यालयमा तोकिएको छ ।