नगर अस्पताल बेल्टारमा सेवासुबिधा थप ।

२३ बैशाख २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित रहेको आधारभुत नगर अस्पताल बेल्टारले आफ्नो सेवा सुबिधालाई थप गरेको छ । सेवा सुबिधा थप भएसंगै सामान्य चेकजाँचका लागि अन्त जानु नपर्ने भएको छ । आज अस्पतालको प्रारंगमा अस्पतालका संरक्षक तथा नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रमुख डा. अमृत कर्णले अस्पतालमा विरामीको स्वास्थ्य परिक्षण गर्न अटोम्याटिक ल्याव सिस्टम जडान गरिएको बताउर्दै यसले कम समय मै विरामीको बास्तविक रिपोर्ट प्रदान गर्ने भएकोले यसअघि हुने गरेको ह्युमन ईरर कम हुने बताएका छन् । नगर अस्पतालमा यसअघि ल्याव प्राबिधिकले हातैबाट आबश्यक केमिकल राखेर विरामीको रगत, पिसाव लगायतको परिक्षण गर्ने गरेका थिए । अबदेखी अटोम्याटिक मेशिन जडानपछि सुगरको विरामीको ३ महिने रिपोर्ट दिने HbA1c,थाईराईड, कलेजो, मृगौला लगायतको परिक्षण यहि गर्न सकिने बताएका छन् । यस्तै अस्पताल प्रमुख डा. कर्णले ईमेरजेन्सी सेवालाई थप परिस्कृत गरिएको बताउदै सबैखाले विरामीलाई आपतकालिन सेवा प्रदान गर्न सकिने गरी बेडको ब्यबस्था गरिएको, जेनेरल बेडको ब्यबस्था गरिएको जनाएका छन् भने ओपिडी सेवालाई समेत थप ब्यबस्थित गरिएको जानकारी दिएका छन् । त्यस्तै डा. कर्णले सामान्य नागरिक, बृद्ध तथा अशक्त नागरिक, औषधी र बिशेषज्ञ सेवाकोे सिफारिस, गर्भवती महिलाको चेकजाँचको लागि छुट्टाछुट्टै ओपिडी कक्षको ब्यबस्था गरिएको, त्यस्तै परिवार नियोजन तथा मुखको क्यान्सरको चेकजाँजका लागि पनि छुट्टै कोठाको ब्यबस्था गरिएको जानकारी दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले स्वास्थ्य सेवाको सुधार गर्ने प्रतिबद्धता गरेअनुरुप नगरले आधारभुत नगर अस्पतालको सेवालाई भरपर्दो, बिश्वासिलो बनाउने दिशामा कार्य गरिरहेको जनाउर्दै सेवा सुबिधा थप्नमा नगरपालिकाले सहयोग गरेको बताएका छन् । उनले ईमरजेन्सी सेवा र अत्याधुनिक मेशिनसहितको ल्याव सेवा शुरु भएपछि सामान्य चेकजाँचका लागि विराटनगर, धरान गएर खर्च गुर्नपर्ने अबस्थाको अन्तय भएको बताएका छन् । गरीव जनताले विराटनगर, धरान गएर सामान्य चेकजाँच गराउनु पर्दा नौ दश हजार रुपैयाँ खर्च लाग्ने गरेकोले गरीव जनता मर्कामा परेको बताउदै उनले अबदेखी आफ्नै ठाउँमा सो सुविधा प्राप्त हुने भएपछि उनीहरुले राहत पाउने बताएका छन् । नगर प्रमुख लामाले अस्पताल परिसरमा संचालित फार्मेशीलाई पनि ब्यबस्थित गर्न लागिरहेको जानकारी दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व नगर प्रमुख खगेन्द्र राईले अस्पतालले दिने सेवा सुबिधालाई गुणस्तरीय बनाउनुपर्ने बताएका थिए । उनले स्वास्थ्य विमा गरेका विरामीहरुले कुन कुन औषधी विमाबाट पाउने हुन् , कुन होईनन् भन्ने बिषयमा डाक्टरहरुले नै जानकारी गराउदा राम्रो हुने सुझाव पनि दिएका थिए । कार्यक्रममा वडा अध्यक्षहरु अम्बर बहादुर खड्का, लुंगराज राई, पर्शुराम राई, सिताराम राई, स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरी, उप प्रमुख लक्ष्मी चौधरी, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, एमाले उदयपुर जिल्ला कमिटी सदस्य श्याम राई, रास्वपाका नगर सभापति रमेश बिष्ट लगायतको उपस्थिती रहेको थियो ।