१६, कार्तिक,सन्तोष कुमार रौनियार….

चौदण्डीगढी नगरपालिका वडा नं. ३ मा भोलीदेखि शुरु हुने प्रथम स्व. मानबहादुर मगर स्मृति फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । चौदण्डीगढी नगरपालिकाको विशेष सहयोग र सृजना युवा क्लव बसाहा बदेलपानीको आयोजनामा हुन लागेको उक्त प्रतियोगितालाई चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिले आर्थिक सहयोग गर्नुको साथै फलामे गोल पोस्ट दुई थान , जाली तथा फुटवल सहयोग गरेको समितिका सदस्य सचिव अनुपराज खत्रीले बताएका छन् । आज एक कार्यक्रमको बिच नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगरले सहयोग सामाग्री क्लबका पदाधिकारीहरुलाई हस्तान्तरण गरेका छन् । यस्तै बसहा क्लबले समेत प्राबिधिक सहयोग गरेको बसहा क्लबका अध्यक्ष गौतम राईले जानकारी दिएका छन् ।
सृजना युवा क्लवका पूर्व सदस्य तथा बसाहा क्लवका पूर्वखेलाडी समेत रहेका स्व. मानबहादुर मगरको स्मृतिमा बसाहा बदेलपानी खेलमैदानमा पहिलो पटक सञ्चालन हुन लागेको प्रतियोगिताको सबै तयारी पुरा भएको क्लवका अध्यक्ष सुनिल तामाङले बताएका छन् । प्रतियोगितामा स्थानीय र जिल्ला बाहिरको गरेर आठ वटा टिमको सहभागिता रहेको तामाङ्गले जानकारी दिएका छन् । प्रतियोगितामा बुद्ध एकता युथ क्लव बेलका, बेल्टार युथ क्लव, बसाहा क्लव, हडिया फुटबल क्लव, अजम्वरी युथ क्लव भागलपुर, न्यु त्रियुगा फुटबल क्लव फत्तेपुर सप्तरी, ब्रदर युथ क्लव बसाहा र आयोजक सृजना युवा क्लवसहित ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेल भोली दिउँसो बुद्ध एकता युथ क्लव बेलका र बेल्टार युथ क्लवबीच हुनेछ भने प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले गर्ने जनाइएको छ । प्रतियोगिताको विजेता टिमले ३० हजार र उप–विजेता टिमले २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । भोलीबाट शुरु हुने प्रतियोगिताको फाइनल खेल भने कार्तिक २३ गते हुने आयोजकले बताएको बसहाबाट हाम्रा सहकर्मी महेन्द्र राईले जानकारी दिएका छन् ।


