९ औ संस्करणको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधी सर्लाहीको बागमती युवा क्लबलाई ।

४ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर

उदयपुरको चौदण्डीगढी नगरपालिकामा सम्पन्न ९ औ संस्करणको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता सर्लाहीको बागमती युवा क्लबले जितेको छ । आज वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा भएको फाईनल खेलमा सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लवलाई १–० ले पराजित गर्दै बागमती युवा क्लबले उपाधी चुमेको हो ।

खेलको सुरुवात मै बागमतीका जर्सी नम्बर २३ का श्रीजन गौतमले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हापको तेश्रो मिनेटमै बागमतिले कर्नर पाएको थियो । बागमतिका खेलाडीले प्रहार गरेको कर्नरलाई फिनिसिङ्ग गर्दै गौतमले सुन्दर गोल गरेका थिए । त्यो गोल नै निर्णायक हुँदा बागमतिले उपाधी जित्न सफल भएको हो । अफ्रिकन मुलका विदेशी खेलाडीसमेत रहेको त्रियुगा शारिरीक रुपमा बलियो देखिएपनि बागमतिको खलाडीको खेल कौशलका अगाडी फिका भएको थियो । गोल गर्ने केही अवसर पाए पनि त्रियुगाका खेलाडीले त्यसलाई सदुपयोग गर्न सकेनन् । उपाधीसंगै बागमतिले नगद ४ लाख १ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ भने उप विजेता त्रियुगाले नगद २ लाख १ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै आजको खेलको म्यान अफ दि म्याच न्यू त्रियुगा स्पोर्ट्स क्लबका जर्सी नम्बर १५ का कुलदिप कार्की घोषित भएका थिए । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक बागमती युवा क्लब सर्लाहीका रबिन बस्नेत, सर्वाधिक ३–३ गोल कर्ता बागमतीका दिपेश चाम्लिङ र त्रियुगाका बिदेशी खेलाडी फोफोना ईब्राहिम घोषित भएका थिए । त्यस्तै उदयमान खेलाडीमा बसाहा फुटबल क्लबका केवल तामाङ, प्रतियोगिताको उत्कृष्ट खेलाडीमा बागमतिका आयुष राना, उत्कृष्ट प्रशिक्षकमा बागमतिकै सोनम लामा घोषित भएका थिए । उनीहरु सबैलाई जनही नगद ५ हजार रुपैयाँ र ट्रफीले सम्मान गरिएको थियो । गत असोज २७ गतेबाट शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा झापाको दमक फुटवल एकेडेमी, सुनसरीको एभरेष्ट फुटवल क्लव, सर्लाहीको बागमति युवा क्लव, मोरङको चारतारे फुटवल क्लव, सप्तरीको न्यू त्रियुगा स्पोर्टस क्लव , उदयपुरको कटारी फुटवल क्लब, काठमाडौंको चित्लाङ्ग फुटवल क्लब र आयोजक बसाहा क्लव गरी ८ वटा टिमको सहभागिता रहेकोमा थियो ।