३ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ ले गत बर्ष उत्कृष्ट करेसाबारी संचालन गरेका किसानलाई आज सम्मान गरेको छ । २०८० सालको वडा दशै, दिपावली, छठ पर्व तथा नेपाल संम्वत ११४४ को अवसरमा सिर्वानीस्थित वडा कार्यालयमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा वडाले चार जना किसानलाई तरकारी खेतीमा राम्रो कार्य गरेको हुनाले उत्कृष्ट करेसाबारी कृषकले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वडाका सातधारेका पर्शुराम राई, केचुवाका लाल बहादुर कार्की, बेल्टारका भोलाचन्द्र राई र सिवार्नीकी डोल्मा शेर्पा रहेको वडा सदस्य कमल कार्कीले जानकारी दिएका छन् । उनीहरुलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले प्रमाण पत्र र जनही नगद दुई हजार रुपैयाँ पुरुस्कारसहित सम्मान गरेका थिए । वडाले गत आर्थिक बर्षदेखी वडालाई तरकारी खेतीमा आत्म निर्भर बनाउने उदेश्यसहित उत्कृष्ट तरकारी खेत गर्ने कृषकलाई सम्मान गर्ने जनाएको थियो ।
वडाको सातधारे, केचुवा, सिवार्नी तरकारीको पकेट क्षेत्र हुने सम्भावित क्षेत्र भए पनि त्यस क्षेत्रका बासिन्दाले बजारबाट तरकारी किनेर खाने गरेका छन् । कम्तिमा पनि आफ्नो घरलाई चाहिने तरकारी आफ्नै करेसाबारीमा उत्पादन गरेर वडालाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन र वडाका बासिन्दालाई करेसाबारी खेतीतर्फ आकर्षित गर्न पुरुस्कारको ब्यबस्था गरेको वडा अध्यक्ष अम्बर बहादुर खड्काले जानकारी दिएका छन् । उनले यस आर्थिक बर्षबाट उत्कृष्ट कृषकलाई टनेल लगायतको सामाग्रीमा सहयोग गर्ने बताएका छन् । नगरपालिकाले पनि एक घर एक करेसाबारी कार्यक्रमको माध्यमबाट नगरलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याएको छ । तर नगरबासीको चासो यसमा कम देखिएकोले नगरको उर्भरभुमी बाझो रहेको देखिन्छ भने नगरमा करोडौ रुपैयाँको तरकारी छिमेकी जिल्ला र पालिकाबाट आयत हुने गरेको छ ।
यस्तै वडा कार्यालयले आजको कार्यक्रमा वडाबाट सरुवा भई वडा नम्बर ९ ज्यामिर पुगेका वडासचिव पुस्कल राईलाई विदाई तथा वडा नम्बर २ झोडापाटा देखी सरुवा भई वडा नम्बर ६ सिवार्नी आएका सचिव नैन बहादुर खड्कालाई स्वागत समेत गरेको थियो भने यस अघिका वडाका जनप्रतिनीधिहरुलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको थियो ।




फोटोः भिम परियार
