नेपाली कांग्रेस चौदण्डीगढीमा पदको लागि विवाद !

नेपाली कांग्रेस चौदण्डीगढीमा पदको लागि फेरी विवाद शुरु भएको छ । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ को प्रतिनीधि सभा महासमिति सदस्य तथा चौदण्डीगढी नगर उप सभापति पदको निर्वाचनका लागि सहमतिको प्रयास गरिएको भएता पनि असफल भएको छ । उपसभापति पदमा यसअघि भएको नगर सभापति पदको उम्मेदवार भै पराजित रामकुमार खड्का र उप सभापति मै पराजित गोमा सेढाई आंकक्षी देखिएपछि सहमति जुट्न सकेन । खड्का र सेढाई दुवै जना यसअघि भएको पार्टी नगरको चुनावमा संस्थापन ईतर पक्षबाट एउटै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । त्यस बेला उपसभापतिमा निर्वाचित पवन कार्कीले उपसभापति पदबाट राजिनामा दिएर पार्टी परित्याग गरेपछि पद खाली रहेको छ । उपसभापति पदका प्रत्याशी गोमा सेढाईले आफु यसअघि उप सभापति पदमा पराजित भएको र त्यसबेला आफ्नै समुहका सभापति पदका प्रत्याशी खड्काले अहिले नैतिकताको आधारमा पनि आफुलाई छोड्नुपर्ने बताएकी छिन् । आज बेल्टारबजारस्थित पार्टी कार्यालयमा भएको जिल्ला पार्टी सभापति हिमाल कार्की, पुर्व जिल्ला पार्टी सभापति बिदुर बस्नेत, क्षेत्रिय सभापति खगेन्द्र राई, पुर्व क्षेत्रिय सभापति भोजराज खतिवडा, नगर सभापति राजेन्द्र पौडेल लगायतको उपस्थितीमा भएको छलफलमा सहमति जुट्न सकेन ।

एता क्षेत्र नम्बर १ बाट ११ जना महासमिती सदस्य छनौट हुने भएता पनि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेताहरु चरण राई, सुमन कुमार परियार, बिदुर बस्नेत, तिलक बहादुर कटुवाल, भोजराज खतिवडा, प्रमिला राई, शान्तिदेवी चौधरी, हिमाल कार्की, त्यस्तै ज्ञानेन्द्र प्रधान, रिताकुमारी चौधरी, राजकुमार राउत, बोधराज दाहाल, सत्य नारायण चौधरी, सुमन्त कोईराला, ताराकुमारी राई, सरिता राई, विनोद कुमार बस्नेत र अव्रmुर खड्का रहेका छन् । महासमिति सदस्यमा संस्थापन पक्षको ७ र संस्थापन ईतर पक्षले ४ जना पाउने गरी सम्झदारी भएको बताइएको छ । तर संस्थापन ईतर पक्षले उपसभापति पदमा गोमा सेढाई हुनुपर्ने अडान लिएपछि आज सहमति हुन सकेन । भोली बिहान ९ बजेसम्म सहमतिको लागि कुर्ने र सहमति नभए त्यसपछि समझदारीमा चुनावको मिति तोकिने निर्वाचन संयोजक राम बहादुर राउतले बताएका छन् ।