ईलाका प्रहरी कार्यालय बेल्टारद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना ।

दिनदिनै नगरमा चोरीको घटनाबृद्धी हुन थालेपछि चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित ईलाका प्रहरी कार्यालय बेल्टारले शान्ति, सुरक्षा लगायतका बिषयवस्तुमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ईलाका प्रहरी कार्यालय बेल्टारमा भएको कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक डम्बर विश्वकर्माले नगरको वडा नम्बर २, ३, ४, ६, ७, ८, ९ र १० वडामा पर्ने बजार क्षेत्र लगायतका टोल विकास संस्थाका अध्यक्षहरुको उपस्थितिमा शान्ति, सुरक्षासंग सम्बन्धित बिषयमा अन्तरक्रिया गरेका हुन् । केही समयदेखी नगरमा मोटरसाईकल लगायतका सवारी साधन नै चोरी हुन थालेको र प्रहरीको भुमिका मै प्रश्न उठन थालेपछि विदाबाट फर्किने बितिकै प्रहरी निरीक्षक विश्वकर्माले सरोकारवालाहरुलाई बोलाएर अन्तरक्रिया गरेका हुन् । छलफलमा सहभागी टोलबिकास समितिका अध्यक्षहरुले आफ्नो क्षेत्रमा पुलिस गस्ती बढाउनु पर्ने, अपरिचित मान्छेहरुको निगरानी गरिनुपर्ने, लागुऔषध तथा चोरीको घटनाहरुमा प्रहरीको तत्काल रेस्पोन्स हुनुपर्ने लगायतका माग गरेका थिए । यस्तै सवारी साधन बाहिर त्यतिकै नछोड्न, टोलहरुमा भएको गतिबिधीहरु बारे सुचना आदनप्रदान गर्न , सिसिटिभी जडान लगायतको बिषयमा छलफल भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।