११९ जना कर्मचारीको करार अबद्यी नथपेर ज्यालादारीमा काममा लगाउने चौदण्डीगढी नगरपालिकाको निर्णय ।

चौदण्डीगढी नगरपालिकाले नगरपालिकामा कार्यरत ११९ जना कर्मचारीको करार अबद्यी नथपेर ज्यालादारीमा काममा लगाउने निर्णय गरेको छ । गत मंसिर २९ गते बसेको नगर कार्यपालिकाको बोर्ड बैठकले पुर्व गाउँ बिकास समिति, जिल्ला बिकास समिति, बेल्टार – बसहा नगरपालिका हुदाँका बखत नियुक्त भएका कर्मचारी, त्यस्तै प्राबिधिक शाखा, रोजगार शाखा, सरसफाई, बिद्युत हेल्पर, मेडिकल अफिसर बाहेकका यसअघि करारमा कार्यरत ११९ जना कर्मचारीहरुको करार अबद्यी नथपी ज्यालादारीमा बोलाउने निर्णय गरेको हो । उनीहरुलाई माघ १ गतेबाट ज्यालादारीमा बोलाउने निर्णय भएको नगरपालिकाका प्रशासन शाखा अधिकृत जनक लेखीले जानकारी दिएका छन् ।

नगरपालिकामा स्थायी कर्मचारी ३४ जना जती मात्र छ भने यसअघि करारमा १९२ जना कर्मचारी रहेकोमा ११९ जनालाई ज्यालादारीमा बोलाउने निर्णय भएको लेखीले बताए । यस्तै करारका रहेका कर्मचारीहरुलाई थप दुई महिनाको लागि करार थप गरिएको उनले जानकारी दिएका छन् । उनीहरुलाई माघ १ गतेबाट लागु हुनेगरी फागुन मसान्तसम्मको नियुक्ति दिने नगरपालिकाको तयारी छ । यसअघि करारमा कार्यरत रहँदा सार्वजनिक विदा, शनिवार विदा, पर्व विदा, घरविदा, विरामी विदा, पोशाक भत्ता लगायतको सुविधा नपाउने अब ज्गालादारी भएपछि नपाउने भएका छन् ।