चौदण्डीगढी नगरपालिकामा बिद्यालय तहबाट नै खेलकुदलाई बिकास गर्ने सम्बन्धनमा चौदण्डीगढीनगर युवा तथा खेलकुद बिकास समितिले छलफल अघि बढाएको छ । यसै बिषयमा हिजो नगरपालिकाको सभाहलमा बिधालयमा खेलकुद बिकासका निम्ति विविध विषय माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको समितिका सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् ।
नगर प्रमुख कालुमान लामाको निर्देशन बमोजिम बिद्यालय स्तरबाटै खेलकुदको बिकास गर्न बिद्यालयका खेलकुद शिक्षकहरुसंग छलफल तथा अन्त्रक्रिया गरिएको र आबश्यक बिद्यालयमा नगरका खेलकुद प्रशिक्षकहरुलाई पठाएर प्रशिक्षण दिन लगाउने तथा बिद्यालयस्तरीय खेलकुदको आयोजनालाई प्राथमिकता दिने सचिव खत्रीले बताएका छन् । नगर शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामेश्वर कुवरको प्रमुख आतिथ्यता तथा नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगरको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियामा २१ वटा सामुदायिक बिद्यालयका खेलकुद शिक्षकको सहभागिता रहेको थियो ।
