चौदण्डीगढी नगरपालिकामा संचालित ग्रेस वचत तथा ऋण सहकारी संस्था लिमिटेड संकटमा ।

चौदण्डीगढी नगरपालिकामा संचालित ग्रेस वचत तथा ऋण सहकारी संस्था लिमिटेड संकटमा परेको छ । वडा नम्बर ७ बेल्टारमा रहेको सहकारीले बचतकर्ताको न्युन्तम वचत समेत फिर्ता गर्न नसक्ने अबस्थामा पुगेपछि बचतकर्ताहरु आक्रोशित भएका छन् । पटक पटक भाका फेर्ने तथा जिम्मेवार ब्यक्तिसमेत कार्यालयमा नभेटिदा वचत डुब्ने हो की भन्ने आशंकामा बचतकर्ताहरु परेका छन् । केही दिनअघि बचतकर्ताहरुको एक समुहले सहकारीको कम्प्युटर, फर्निचर लगायतको समान नै उठाउनेगरी ट्रयाक्टर नै लिएर पुगेपछि स्थानीय प्रहरी प्रशासनले सहजीकरण गरेपछि फर्किएका थिए । तर फेरी पनि वचत फिर्ता नपाएपछि आज ५० जनाभन्दा बढीको संख्यामा वचतकर्ताहरु कार्यालयलाई घेराहाली आफ्नो वचत फिर्ता माग्न पुगेका थिए ।

जसरी पनि आफ्नो वचत फिर्ता हुनुपर्ने माग वचतकर्ताले गरेपछि सहकारीले फेरी नयाँ भाका राख्दै कागज गरेको छ । वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काको रोहवरमा स्थानीय कानुन ब्यबसायी पर्शुराम राईले तयार गरेको कागजमा आगामी फागुन महिनासम्ममा वचतकर्ताको सबै वचत फिर्ता गर्ने उल्लेख गरिएको छ । सहकारीका चेयरम्यान प्रभात खड्काले सहकारीको लगानी उठन नसकेकोले समयमा नै वचत फिर्ता गर्न नसकिएको बताएका छन् । उनले बेलका र चौदण्डीगढी नगरपालिकामा रहेका ऋणीहरुसंग ऋण उठाउने प्रक्रियामा लागेको र वचतकर्ताहरुसंग यस बिषयमा सहमति भैसकेको रेडियो चौदण्डीगढीसंग बताएका छन् ।

केही समय अघि मात्र लेखापालले राजीनामा दिएपछि लेखापालको जिम्मेवारी पनि सम्हाल्दै आएकी सहकारीकी क्यासियर गिता राईले आधिकारिक विवरण उपलब्ध नगराए पनि झण्डै एक करोड रुपैयाँ वचत फिर्ता गर्नु पर्ने रहेको र त्योभन्दा बढी ऋण असुल गर्नुपर्ने रहेको बताएकी छिन् । सहकारीले एक जनाको मात्र १७ लाख रुपैयाँसम्म बचत फिर्ता गर्नुपर्ने रहेको छ । क्यासियर राईले ठुलो रकम मध्ये वडा नम्बर ८ बिरेन्द्र बजारकी देवीमाया पाण्डेको १७ लाख र वडा नम्बर ६ बेल्टारकी रिद्धीसिद्धी गुप्ताको १३ लाख रुपैयाँ वचत फिर्ता गर्नुपर्ने जानकारी दिएकी छिन् ।