बेल्टार बजारलाई ब्यबस्थित गरिदै ।

बजारको ब्यबस्थापन, गाँउको बिकास भन्ने मुख्य नाराको साथ गत स्थानीय तह निर्वाचनमा बिजयी भएका चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नगरको मुख्य बजार रहेको बेल्टार बजारलाई ब्यबस्थित गर्ने कार्यको सुरुवात गरेका छन्। केही समयअघि नगरको बजार ब्यबस्थापन गर्नको लागि बिकास बन्जराको संयोजक्तवमा गठन भएको बजार ब्यबस्थापन तथा बिकास समितले आज बेल्टार बजार बेलपार्कस्थित अब्यबस्थित छाप्राहरु हटाएको छ भने पुष्पलाल चौकदेखी बिपी चौकसम्म ब्यापारीहरुले सडक ढाकेर बनाएका छाप्रा तथा पसलहरु हटाएको छ ।
दशैअघि नै यस किसिमका संरचनाहरु हटाउदै बजारलाई सौन्दर्यकरण गर्ने योजना भएतापनि स्थानीय ब्यापारीहरुको आग्रहमा दशैपछि हटाउन शुरु गरिएको बजार ब्यबस्थापन तथा बिकास समितिका संयोजक बिकास बन्जराले बताएका छन् । नगरपालिकाले समेत यसअघि माईकिङ्ग, पत्र, स्थानीय रेडियोबाट बजार क्षेत्रमा रहेका अब्यबस्थित छाप्रा, टहरा र पसलहरु हटाउने अग्रिम सुचना जारी गर्दा पनि अटेरी गर्नेहरुको पसल तथा छाप्रा हटाएको बन्जराले बताए । अहिले त्यस क्षेत्रका पसलहरु हटाए पनि नियमितरुपमा बिहिवारको दिन लाग्ने साप्ताहिक हटियाको दिन पसलहरु राखेर संचालन गर्न अबरोद्ध नगर्ने बन्जराको भनाई छ ।
५० बर्षभन्दा अघि नै यस क्षेत्रमा हटिया लगाउन स्थानीय समाजसेवी मन्दोदरा सेढाईले झण्डै एक बिघा जग्गा दान गरेको उनका छोरा जनकलाल सेढाईले बताएका छन् । तर त्यसबेला दिएको जग्गा मध्ये बजार बरिपरीका घरधनीहरुले जग्गा हडपेको हुनाले हटियाको लागि दिएको जग्गा हराएकोले नगरपालिकाले सो जग्गाको खोजी गर्नुपर्ने पनि सेढाईले बताए । सेढाई परिवारले बेल्टार बजारको बिकासको लागि हटिया र बसपार्क बनाउनका लागि डेड बिघाभन्दा बढी जग्गा दान गरेको जनाएको छ । एता जग्गा दाताले हटियाको लागि दिएको जग्गामा पार्क निमार्ण गरेर बजार मास्ने कार्य भएकोले पार्क हटाएर साबिक झै हटिया लगाउनुपर्ने कतिपय ब्यापारीहरुले माग गरेका छन् । साना ब्यापारीहरुले हटियामा पसल थाप्न नपाउँदा उनीहरुको रोजीरोटी खोसिने उनीहरुको भनाई छ ।