चौदण्डीगढीमा खोरेत रोगविरुद्धको खोप प्रभावकारीरुपमा संचालन गर्न निर्देशन ।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा खोरेत रोगविरुद्धको खोप प्रभावकारीरुपमा संचालन गरिने भएको छ । नगर प्रमुख कालुमान लामाले बेल्टार बजारस्थित पशु सेवा कार्यालयमा आज विहान आयोजित खोरेत रोगविरुद्धको निःशुल्क खोप शुभारम्भ कार्यक्रममा भ्याक्सिन लगायतका लजेस्टिक सामाग्री हस्तान्तरण गर्दै खोरेत रोगविरुद्धको खोप प्रभावकारीरुपमा संचालन गर्न निर्देशन दिएका हुन् । पशुपालक किसानहरुलाई ब्यबसायिकरुपमा अगाडी बढाउन र नगरपालिकालाई दुधजन्य तथा मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउनका लागि सहयोग गरिरहेको जनाउदै लामाले स्वस्थ्य उत्पादनमा जोड दिन निःशुल्क खोप अभियान संचालन गरिएको जनाएका छन् ।
चौदण्डीगढी नगरपालिकाले यस बर्ष १५ हजार गाईभैसीहरुमा खोरेत रोग विरुद्धको निःशुल्क खोप लगाउने तयारी गरेको छ । यसै सन्दर्भमा नगरपालिकाको १० वटै वडाहरुलाई समेटेर तयार गरिएको अभियानका लागि नगर प्रमुख लामाले भेटेनरी प्राविधिकहरुलाई भ्याक्सिन लगायतका लजेस्टिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
कोशी प्रदेश उद्योग, कृषी तथा सहकारी मन्त्रालय, पशुपंक्षी तथा मस्त्य विकास निर्देशानलय विराटनगर र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, उदयपुरको सहकार्य र सहयोगमा संचालन गरिने अभियानमा अनलाईनमार्फत रेकर्ड रहनेगरी पहिलो चरणमा १५ हजार गाईभैसीहरुमा खोरेत रोग विरुद्धको निःशुल्क खोप लगाईने पशु सेवा कार्यालय बेल्टारका प्रमुख डा. विमल सिलवालले जानकारी दिएका छन् । नगरको १० मध्ये वडा नम्बर २ र ७ बाहेक अन्य वडामा पशु प्राविधिकहरु रहेको बताउदै उनले २ नम्बर र ७ नम्बर वडामा पनि उनीहरुलाई नै अभियानमा जोड्ने बताएका छन् । पहिलो चरणको खोप कार्यक्रम कार्तिक २३ गतेदेखी मंसिर २३ गतेसम्म संचालन गरिने र अभियानको प्रभावकारिता हेरेर आगामी चैत्र महिनामा बुस्टर डोज खोप अभियान फेरी संचालन गरिने उनले जानकारी दिएका छन् । गत बर्ष पनि चौदण्डीगढी नगरपालिकाले १२ हजारभन्दा बढी गाईभैसीहरुमा खोरेत रोग विरुद्धको निःशुल्क खोप अभियान संचालन गरेको थियो ।
खोरेत रोग एपथस भाईरसका कारण पशुहरुमा लाग्ने रोग हो । एउटा पशुबाट अर्को पशुमा सजिलैसंग फैलन सक्ने भएकाले यसले गाईभैसी लगायतका खुरफुट्टा पशुहरुमा महामारीको रुप लिने गर्दछ । खोरेत रोग लागेका पशुको मुखमा घाउखटिरा आउने, खाना खान मन नगर्ने, र्याल धेरै चुहाउने, खुरको विच विचमा घाउ देखिने , शरिरमा पानीको फोका जस्तो घाउ देखिने कराउने, झोक्राएर बस्ने , दुध कम दिने लगायतका लक्षणहरु देखिन्छ ।