उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीलाई नेकपा एमालेले पार्टीबाट हटाएको छ । गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा वडा अध्यक्ष अधिकारीले पार्टीको सबै पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । सामाजिक संजाल फेसबुकबाट गत भदौ २४ गते वडा अध्यक्ष अधिकारीले ““ जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गर्दै आजकै मितिबाट लागु हुनेगरी एमालेको सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराउदछु । ““ भनि घोषणा गरेका थिए । उनले यसै ब्यहोराको पत्र एमाले जिल्ला अध्यक्ष भागवत राउतलाई दिदै एमालेको सबै जिम्मेवारीबाट राजिनामा दिएको बताएको एमाले जिल्ला कमिटी सचिव टेक बहादुर राउतले जानकारी दिएका छन् ।गत कार्तिक ११ गते बसेको एमाले जिल्ला सचिवालय उदयपुरको बैठकले वडा अध्यक्ष अधिकारीको राजिनामा स्वीकृत गरेको र कार्तिक १६ गते जिल्ला अध्यक्ष भागवत राउतको अध्यक्षता तथा कोशी प्रदेश ईन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यता र उदयपुर जिल्ला ईन्चार्ज मन्जु चौधरी, केन्द्रिय सदस्य अम्बिका थापा , कोशी प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ लगायतको उपस्थितिमा बसेको ८ औं बिस्तारित बैठकले वडा अध्यक्ष अधिकारीले दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको जिल्ला सचिव राउतले जानकारी दिएका छन् । राजिनामा स्वीकृत भएसंगै वडा अध्यक्ष अधिकारीलाई एमाले पार्टीबाट हटाईएको हो ।
वडा अध्यक्ष अधिकारीको गतिविधि पार्टी हित बिपरित रहेको भन्दै त्यस अघि नै नेकपा एमाले चौदण्दीगढीका नगर अध्यक्ष बिकास बन्जराको अध्यक्षतामा बसेको ५ औ नगर सचिवालय कमिटिको बैठकले अधिकारीलाई कारवाहीको लागि जिल्लालाई सिफारिस गरेको थियो । अधिकारीले पार्टीलाई कमजोर बनाउने उदेध्यले गलत अभिब्यक्ति दिने गरेको र बिना प्रमाण मिडियामा नेतृत्वविरुद्ध गलत अभियोग लगाउने गरेको जनाएको छ । वडा अध्यक्ष अधिकारीलाई नगर कमिटी र वडा कमिटिको बैठकले पटक पटक कार्यपालिका बैठकमा सहभागी हुन दिएको निर्देशन अवज्ञा गरेको र वडा नम्बर ७ का जनताको समस्या कार्यपालिका बैठकमा नपुर्याएको , यस्तै एमाले पार्टी कार्यालय जलाउनुपर्छ भनेर जेनजी आन्दोलनमा संलग्नहरुलाई उक्साएको नगर अध्यक्ष बन्जरा बताउदै अधिकारीका यस्तै किसिमका गतिबिधीका कारण कारवाहीको सिफारिस गरिएकोे जनाएका छन।
एता नगर प्रमुख कालुमान लामाको सचिवालयले पनि वडा अध्यक्ष अधिकारीको कार्यशैली अराजक रहेको, बजेटको बिषय पारित हुनुअघि नै सार्वजनिक गर्ने गरेको, वडामै भए पनि वडा सदस्यलाई कार्यवाहक दिएर जिम्मेवारीबाट भाग्ने गरेको , नगरप्रमुख कालुमान लामा र कार्यपालिकाका सदस्यहरुमाथी बिना प्रमाण निराधार आरोप लगाउदै मिडियाबाजी र मुद्दामामिला लगायतका गतिविधिमा लागेको भन्दै असन्तुष्ट रहदै आएको थियो ।
एता राजिनामा स्वीकृत भएपछि एमाले पार्टीको टिकटबाट ७ नम्बर वडाको वडा अध्यक्षमा निर्वाचित अधिकारीको पद धरापमा परेको छ । एमाले जिल्ला सचिव टेक बहादुर राउतले पार्टीको टिकटमा निर्वाचित भएको ब्यक्तिलाई पार्टीले कारवाही गरेपछि नैतिकताको आधारमा पनि जनप्रतिनिधि भएर काम गर्न नमिल्ने जिकिर गरेका छन् । वडा अध्यक्षबाट हटाउनको लागि थप प्रक्रिया अगाडी बढीसकेको बताउदै राउतले अधिकारीले वडामा आएर काम नगर्ने बिस्वास ब्यक्त गरेका छन् । राउतले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार यदी स्थानीय तहका जनप्रतिनीधिले पनि आफु निर्वाचित भएको दल त्याग गरेर अर्को पार्टी प्रबेश वा स्वतन्त्र भएमा पद रिक्त रहने ब्यबस्था रहेको जनाउदै वडा अध्यक्ष अधिकारीको पद गुम्ने बताएका छन् ।
तर जानकारहरुले भने पार्टीले निर्वाचन आयोगमा कारवाहीका लागि अनुरोध गर्ने र निर्वाचन आयोगले कानूनी प्रक्रिया पुरा गरेपछि मात्रै पद गुम्ने बताएका छन् ।
