उदयपुरको चौदण्डीगढी नगरपालिकामा अब्यबस्थित बसोबासीहरुको ऐलानी जग्गा भोगपुष्टी गर्नका लागि स्थलगत सर्जमिन गर्ने कार्य शुरु भएको छ । विगतका आयोग समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने सम्बन्धी कार्यविधि २०८१ को परिच्छेद २ को बाँकी काम सम्पन्न गराउने सम्बन्धी उपदफा ३ बाँकी कामको पहिचान अन्तर्गत क देखि द सम्म १८ किसिमका समस्या रहेका जग्गाहरूको हकमा यसअघि निवेदन दिई जिल्ला समितिबाट हकदाबीको ३५ दिने सूचना समेत प्रकाशन भइसकेको बताउदै भुमी सेवा केन्द्र ( भुमी शाखा ) चौदण्डीगढीका प्रमुख यग्यराज श्रेष्ठले तिनै निवेदनहरूको आधारमा वडा ४ बसहामा भोग सम्बन्धी पुष्टि गर्नका लागि स्थलगत सर्जमिन गर्न सुरु गरिएको जानकारी दिएका छन् । जसअन्तर्गत किराँत करमजे, भितेली टोल, मकम डाँडा, तीन दोभाने, अमल चौरी टोल विकास संस्था भित्रको जग्गाहरुको भोगपुष्टी सर्जमिन गर्ने सम्पन्न गरिसकेको अब बरपानी, मगर डाँडा हुँदै अगाडि बढिने योजना रहेको श्रेष्ठले बताएका छन् ।

वडा नं ३ , वडा नम्बर ४ र वडा नम्बर १० मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले भोगचास गरी आएको ऐलानी जग्गाको नापी सम्पन्न भैसकेको छ । जसमा फिल्ड मुचुल्का, कित्ता विवरण र तीन पुस्ते विवरण तयारी गरिएको नगर भुमी शाखा प्रमुख श्रेष्ठको भनाई छ । अन्य वडामा पनि नापजाँचको काम भैहेको उनले बताएका छन् । यसैबीच अनुसूची २ फारम भर्न छुट भएकाहरुका लागि २०८२ साल जेष्ठ २९ गते बाट ३५ दिने सूचना समेत केन्द्रीय भुमी आयोगबाट जारी भएको जानकारी दिदै उनले यस विषयमा सबै वडा कार्यालयहरुलाई जानकारी समेत पठाइएको र फारम भर्न छुट्ट भएकाहरुलाई आबश्यक कागजातसहित बेल्टार बजारस्थित नगर नापी शाखामा सम्पर्क गर्न आग्रह गरेका छन । अनुसूची २ फारम भर्न नेपाली नागरिकताको प्रतिलिपी, जग्गा खरिद बिक्री भए लिखत वडामा प्रमाणित भएको , फिल्ड बुक जग्गा रहेको नक्सासिटको कित्ता खुल्ने नक्सा , वडा कार्यालयको सिफारिस नेपाली फाइलमा फाइलिङ गरेर भूमि शाखामा बुझाउन सकिने उनले बताएका छन् । भुमी सेवा केन्द्र चौदण्डीगढीका अनुसार चौदण्डीगढी नगरपालिकामा ५३४ भुमीहीन दलित, १४०७ भुमिहीन सुकुम्बासी र ११,३५३ अब्यबस्थित बसोबासी गरी जम्मा १३, ३१४ कित्ताको गरी ७१, १७० कठ्ठा जमिन नापजाँच गर्नुपर्ने रहेको छ ।
