विलासिता करविरुद्ध उदयपुरका सुनचाँदी व्यवसायीको सिठी जुलुस ।

उदयपुरका सुनचाँदी व्यवसायीहरु सुनमा सरकारले लगाएको विलासिता कर लगायतका अन्य कर खारेजीको माग गर्दै निरन्तर आन्दोलिनमा छन् । आज उदयपुर सदरमुकाम गाईघाटमा सिठी जुलुससहित र्याली गरेका उनीहरुले पिपलबोटमा पुगेर कोण सभाको आयोजना गरेका छन् ।

सुनमा लगाईएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गनुपर्ने, सुनको भन्सार ६ प्रतिशत कायम गनुपर्ने, सुनचाँदीको कारोवारको लागि प्रष्ट नीति नियामावली निर्माण गर्नुपर्ने लगायतका माग राखी उनीहरुले उदयपुरका ब्यापारिक केन्द्रहरु गाईघाट, बेल्टार, कटारी र रामपुर बजारमा नियमित जस्तै आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । सोही क्रममा हिजो विहिवार चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा र्यालीसहित विरोध प्रदर्शन गर्दै कोण सभा गरेका थिए । त्यसअघि गत जेठ २९ गते जिल्ला प्रशासन कार्यालय उदयपुरमा सरकारले सुनचाँदीमा लगाएको कर विरुद्ध ज्ञापनपत्र बुझाएका ब्यबसायीहरुले यसअघि जेठ २९ र ३० गते दुई दिन पसल नै बन्द गरेरै विरोध जनाएका थिए । यसअघि पनि असार १३ र १६ गते २ दिन उदयपुर सदरमुकाम गाईघाटमा विरोध र्याली तथा कोण सभा गरेका उनीहरुले असार १७ गते बेलका नगरपालिकाको रामपुरमा समेत विरोध र्याली तथा कोण सभा गरेका थिए । सुनचाँदी ब्यबसायीहरुको छाता संगठन नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको निर्णयानुसार उदयपुरमा पनि सुनचाँदी ब्यवसायी संघ उदयपुर, सगरमाथा सुनचाँदी ब्यवसायी संघ र कालिगढ सुनचाँदी ब्यवासायी संघले संयुक्त आन्दोलन गरिरहेका छन् । एक हप्तादेखी पसलै बन्द गरेर अनिश्चितकालिन आन्दोलन गर्दा पनि सरकारले सुनचाँदी ब्यबसायीको माग भने सम्बोधन गरेको छैन । एता सुनचाँदी ब्यबसायी संघ उदयपुरका अध्यक्ष काशीनाथ सोनीले सरकारले सुनचाँदीमा लगाएको अब्यबहारिक कर नहटाएसम्म ब्यबसाय बन्द रहने जनाएका छन् ।