चौदण्डीगढी नगरपालिकाको १० बर्षे शिक्षा योजना तथा स्थानीय पाठ्यक्रम विमोचन।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा १० बर्षे शिक्षा योजना तथा स्थानीय पाठ्यक्रम विमोचन गरिएको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा आज आयोजित कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सृजना दनुवार, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलालले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

चौदण्डीगढी नगरपालिकाले नगरपालिकाको शिक्षा क्षेत्र सुधारका लागि १० बर्षे रणनीतिक योजना निमार्णका लागि नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरको संयोजकत्वमा १३ सदस्य योजना निमार्ण समिति गठन गरेको थियो । समितिका सदस्यहरुमा नगर शिक्षा शाखा अधिकृत सुरज कुमार कार्की, ज्योति मावि बेल्टारका प्रअ राजकुमार ओझा, नारद आदर्श मावी बसहाका प्रअ कविराज तामाङ्ग, सरस्वती मावी सिद्धिपुरका प्रअ रित बहादुर मगर, जनता मावी लुङ्गिन्टारका प्रअ पदम तामाङ्ग, सिवाई मावी सिवाईका प्रअ दिनेश ढुंङ्गाना, जनता मावी हडियाका प्रअ रामबहादुर राउत, थानपोखरी मावी ज्यामिरेका प्रअ दिनेश खड्का, लौवागढी मावीकी प्रअ गोमा निरौला, त्यस्तै शिक्षा सुपरीवेक्षक पुष्पा तामाङ्ग र शिक्षा शाखाका प्राविधिक सहायक भक्त कुमार राई रहेको समिति निमार्ण गरेको थियो । सो समितिले झण्डै एक बर्षको तयारी गर्दै १० बर्षे बिद्यालय शिक्षा क्षेत्रको योजना तयार गरेको हो । १० बर्षे शिक्षा योजनाले विद्यालयको संरचना, पाठ्यक्रम, शिक्षक प्रशिक्षण र ब्यबस्थापनमा सुधार ल्याउने विश्वास गरिएको छ । यस्तै शिक्षा योजनाले बिद्यालयको भौतिक पुर्वाधारमा सुधार, शिक्षकहरुको क्षमता बृद्धी, विद्यार्थीहरुको ब्यक्तिगत र सामाजिक विकासको सशक्तीकरणमा योगदान पुर्याउने बताइएको छ । १० बर्षे योजनामा बिद्यालय शिक्षा प्रणालीमा सुधारका लागि आबश्यक आधारहरुको पहिचान, रणनीति र कार्यान्वयन प्रक्रियाहरुलाई ब्यबस्थित गर्ने, त्यस्तै शिक्षा क्षेत्रमा देखिएका मुख्य चुनौतीहरु, स्थानीय तहमा शिक्षा सुधारको औचित्य र दिर्घकालीन समाधानका उपायहरु समाबेश गरिएको छ । नगरपालिकाको १६ औं हिउँदे अधिबेशनले योजना अनुमोदन गरेपछि बिद्यालय शिक्षाको १० बर्षे योजना औपचारिकरुपमा कार्यान्वयनका लागि स्वीकृत भएको थियो ।

यस्तै आज नै प्रमुख अतिथी उपसभामुख दनुवार, नगर प्रमुख लामा र उप प्रमुख दुलालले नगरको कक्षा १ देखी कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम पनि विमोचन गरेका थिए । पाठ्यक्रम विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नगर शिक्षा शाखाका प्रमुख रामेश्वर कुवँरले चौदण्डीगढी नगरपालिकाले हाम्रो शानः चौदण्डीगढीको पहिचान नामक स्थानीय पाठ्यक्रम तयार पारेको जसमा नगर क्षेत्रको सामाजिक, सांस्कृतिक, ऐतिहासिक, पर्यावरणीय, ब्यबसायिक, भौगोलिक र जीवनशैलीसंग जोडिएका विषयबस्तु समेटेको जानकारी दिएका थिए । पाठ्यक्रमले नगरभित्रको विभिन्न जातजाती, समुदाय, रहनसहन, मौलिक संस्कृती, स्थानीय सीप, सम्पदा, पर्यटन, प्राकृतिक श्रोतसाधन, कृषी, उद्योग, स्वास्थ्य, खेलकुद, नैतिक शिक्षा र विपद् ब्यबस्थापन लगायतका बिषयलाई शिक्षण सिकाईको मुल प्रवाहमा ल्याउने लक्ष्य राखेको शिक्षा शाखा प्रमुख कुवँरले बताएका छन् । पाठ्यक्रमको सफल कार्यानवयनले वालवालिकामा स्थानीय पहिचानको बोध, ब्यबहारिक सीप र उत्तरदायित्वको विकास हुने विश्वास गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उप सभामुख सृजना दनुवारले शिक्षाको जिम्मेबारी संविधानले नै स्थानीय सरकारलाई एकल अधिकारको रुपमा दिएको उल्लेख गर्दै चौदण्डीगढी नगरपालिकाले शिक्षा क्षेत्रमा राम्रो कार्य गरेको भन्दै प्रशंसा गरेकी थिईन् । शिक्षा क्षेत्रको सुधारका लागि सबैको सकरात्मक खवरदारीको आबश्यक्ता रहेको बताउदै सबैले आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने बताएकी थिईन् । उनले स्थानीय बिशेषता अनुसारको पाठ्यक्रम निमार्ण गरेकोमा बधाई समेत दिएकी थिईन् । त्यस्तै नगर प्रमुख कालुमान लामाले दण्ड मात्र होईन पुरुस्कृत पनि गर्नुपर्छ भन्ने सोचले कार्य गरिरहेको बताउदै सोही नीतिअनुसार नै बिद्यालय, बिद्यार्थी र प्रधानाध्यापकहरुलाई सम्मान गरी पुरुस्कृत गरिएको बताएका थिए । उनले आगामी दिनमा नीजि बिद्यालयहरुलाई पनि यस किसिमको कार्यक्रमहरुमा समेटेर लैजाने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा भर्खरै सार्वजनिक भएको एसईई परीक्षा २०८१ म उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, बिद्यालयहरुलाई पुरुस्कृत गरिएको थियो भने राम्रो कार्य गर्ने ५ जना प्रधानाध्यापकहरुलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुने प्रधानाध्यापकहरुमा जयकला आधारभुत बिद्यालयका प्रअ गंगा मगर, कौवेदेवी आधारभुत बिद्यालय झोडापाटाका प्रअ वलराम कार्की, सरस्वती मावि सिद्धिपुरका प्रअ रित बहादुर मगर, जनता मावी लुङ्गन्टारका प्रअ पदम तामाङ्ग र सिंहदेवी मावी माडिबासका प्रअ कुमार खड्का रहेका छन् ।