एसईई परिक्षाको नतिजामा उदयपुरको चौदण्डीगढी नगरपालिकाको रिजल्टमा उल्लेख्य सुधार देखिएको छ । गत शुक्रवार प्रकाशित माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईई २०८१ को नतिजामा चौदण्डीगढी नगरपालिकामा समग्रमा ७६.५८ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएको नगर शिक्षा शाखा चौदण्डीगढीले जनाएको छ । शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरका अनुसार सामुदायिक बिद्यालयतर्फ ७०.८५ र संस्थागत नीजि बिद्यालयतर्फ ९७.७१ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् । चौदण्डीगढीमा १९ वटा सामुदायिक बिद्यालयबाट एसईईमा ६४५ जना सहभागी भएकोमा ४ सय ५७ जना उत्तिर्ण भएका छन् भने ११ वटा संस्थागत नीजि बोडिङ्ग स्कुलबाट १७५ जना सहभागी भएकोमा १७१ जना उत्तिर्ण भएका छन् । संस्थागत नीजि बिद्यालयतर्फ गत बर्षहरुमा पनि राम्रै रिजल्ट आउने गरेपनि सामुदायिक बिद्यालयहरुको रिजल्टमा भने यस पटक उल्लेख्य सुधार देखिएको बताएका छन् । नगरमा संचालित १९ वटा सामुदायिक बिद्यालयहरुको रिलज्ट नै गत बर्षभन्दा सुधार भएको शिक्षा शाखा प्रमुख कुवँरले बताएका छन् । सामुदायिक बिद्यालयहरुमा जाल्पाजन मावी अजिङ्गरे र जनता मावी लुङ्गिन्टारको नतिजा शत प्रतिशत रहेको छ भने नारद आदर्श मावी बर्खेडाडा बसहा , जनता मावी हडिया र सरस्वती मावी सिद्धिपुरको रिजल्ट ९० प्रतिशतभन्दा माथी रहेको छ ।
२०८० सालको एसईई परिक्षामा नगरमा संचालित ५ वटा बिद्यालयको नतिजा शुन्य आएको थियो भने सामुदायिक बिद्यालयतर्फ १७.७९ प्रतिशत बिद्यार्थी मात्रै उत्तिर्ण हुन भएका थिए । गत बर्ष सिंहदेवी मावी माडिबास, जनविकास मावी भिमा, शिव मावी सुन्दरपुर, मावी सिवाई र शारदा मावी चौदण्डीको नतिजा शुन्य आएको थियो । यस बर्ष पनि जनविकास मावी भिमा, शिव मावी सुन्दरपुर र मावी सिवाईको नतिजामा सुधार देखिए पनि नतिजा भने निराशाजनक रहेको छ । जनविकास मावी भिमाबाट २५ जनाले परिक्षा दिएकोमा ३ जना मात्र उत्तिर्ण भएका छन् भने, शिव मावी सुन्दरपुरबाट १५ जनाले परिक्षा दिएकोमा ३ जना र मावी सिवाईबाट ३२ जनाले परिक्षा दिएकोमा ७ जना मात्र उत्तिर्ण हुन सफल भएका छन् । अन्य बिद्यालयहरुको नतिजामा भने उल्लेख्य सुधार देखिएको शिक्षा शाखा प्रमुख कुवँरले बताएका छन् । ज्योति मावीकी बिद्यार्थी लाजिमा राईले नगर मै सर्वोत्कृष्ट ४ जिपिए ल्याएर संस्थागत बोडिङ्ग स्कुलका बिद्यार्थीहरुलाई समेत पछि पारेकी छिन् ।
सामुदायिक बिद्यालयहरुको नतिजा कमजोर देखिएपछि नगरपालिकाले शैक्षिक सुधारको कार्यहरु गर्दै आएको थियो । नगर प्रमुख बाटै बिद्यालयहरुको निरन्तर अनुगमन, विद्यार्थी र शिक्षकहरुसंग भेटघाट बिद्यार्थी शिक्षक अनुपात मिलाउन दरवन्दी मिलान, विषयगत शिक्षकहरुको ब्यबस्था, शिक्षकको आन्तरिक सरुवा, उत्कृष्ट बिद्यालयहरुलाई पुरुस्कृत, शैक्षिक छात्रबृतीको ब्यबस्था, कास शिक्षकहरुलाई न्युन्तम पारिश्रमिकको ब्यबस्था लगायतको कार्यहरु गरेको थियो । नगर प्रमुख कालुमान लामाले आफुले नगर प्रमुखको कार्यभार सम्हाले देखिनै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै नगरपालिकाले गरेको शिक्षा सुधारका कार्यहरुले अहिले एसईईको नतिजामा उल्लेख्य सुधार आएको जिकिर गरेका छन् । शिक्षकहरु राजनीतिक पार्टीको झोला बोकेर हिड्ने र बिद्यालयहरुमा नपढाउने गरेको उल्लेख गर्दै नगर प्रमुख लामाले शिक्षकहरुलाई पढाउनै पर्ने बाताबरण निमार्ण गरिएको र विद्यालयमा राजनीति गर्ने कार्यलाई निरुसाहित गरिएको बताएका दावी गरेका छन् । उनले कक्षा ८ का रिजल्टमा पनि सुधार देखिएको र एसईईको नतिजामा पनि सुधारले नगरको शैक्षिक कार्यक्रम सकरात्मकरुपमा अगाडी बढेको जिकिर गरेका छन् ।
