वेपता परिवारलाई जिविकोपार्जनका लागि चौदण्डीगढी नगरपालिकाको लौनो गाई सहयोग ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाले वेपता परिवारलाई जिविकोपार्जनका लागि लौनो गाई सहयोग गरेको छ । वडा नम्बर ५ सुन्दरपुरका चित्र कुमार फुयाँलका परिवारलाई नगर उप प्रमुख मणिकादेवी दुलालले उन्नत जातको जर्सी क्रस लौनो गाई वाच्छीसहित हस्तान्तरण गरेकी छिन् । उनले हिजो मंगलवार सुन्दपुरस्थित घरमै पुगेर वेपता चित्र कुमार फुयाँलपत्नी दुर्गादेवी फुयाँललाई गाई हस्तान्तरण गरेकी थिईन् ।

नगर सामाजिक शाखा प्रमुख नवराज वरालका अनुसार वेपता परिवार संरक्षण सहायता शिर्षकबाट नगरपालिकाले ८० हजार रुपैयाँमा गाई खरिद गरेर जीविकोपार्जनका लागि सहयोग गरेको हो । गाईको एक बर्षसम्मको पशु विमा समेत पालिकाले नै गरिदिएको उनले बताएका छन् । वेपता पारिएका ब्यक्तिको छानविन आयोगको आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक प्रतिवेदन अनुसार चौदण्डीगढीमा ६ जना ब्यक्तिहरु वेपता भएको जानकारी दिदै सामाजिक शाखा प्रमुख वरालले उनीहरुलाई सहयोग गर्न चौदण्डीगढी नगरपालिकाले चालु आर्थिक बर्षमा १ लाख रुपैयाँ वेपता परिवार संरक्षण सहायता शिर्षकका छुट्टयाएको र नगरपालिकाले ६ वटै परिवारको पारिवारिक, आर्थिक स्थिती लगायतको स्थलगत अध्ययनगरी अन्यभन्दा बढी आर्थिक अबस्था नाजुक रहेका फुयाँल परिवारलाई जिविकोपार्जनका लागि लौनो गाई प्रदान गर्ने निर्णय भएको बताएका छन् । गाईबाट जन्मेको बाछी फुयाँल परिवारले पालिकालाई उपलब्ध गराउनुपर्ने र पालिकाले अर्को कुनै एक विपन्न परिवारलाई पुनः हस्तान्तरण गर्नेगरी सम्झौता गरिएको वरालले जानकारी दिएका छन् ।

चित्र कुमार २०६१ साल भदौ ११ गते वेपता भएका थिए । उनी कसरी वेपता भए भन्ने अहिलेसम्म एकिन नभएको बताइएको छ ।