चौदण्डीगढीमा सामुदायिक बिद्यालय तथा क्याम्पसमा अध्ययनरत १०५ जना बिद्याथीलाई छात्रबृती प्रदान।

सन्तोष कुमार रौनियार..

उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रका सामुदायिक बिद्यालय तथा क्याम्पसमा अध्ययनरत एक सय पाँच जना बिद्याथीलाई छात्रबृती प्रदान गरिएको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगर शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई छात्रबृती रकम प्रदान गरिएको हो । बैंक खाता उपलब्ध गराएका बिद्यार्थीको बैंक खातामा तथा बैंक खाता उपलब्ध नगराएका बिद्यार्थीहरुलाई नगद नै छात्रबृती रकम प्रदान गरिएको छ । नगर शिक्षा शाखा प्रमुख उपसचिव रामेश्वर कुवँरले बिद्यालयका बिद्यार्थीहरुलाई ७ हजार र क्याम्पसमा अध्ययनरत बिद्यार्थीलाई जनही १२ हजार रुपैयाँ छात्रबृती रकम उपलब्ध गराएको जानकारी दिएका छन् । बिद्यालयतर्फ सिंहदेवी मावी माडिबास, मावी आमसाल बसहा, नारद आदर्श मावि बसहा, मावि सिवाई सिवाई, ज्योति मावी बेल्टार, जनता मावी हडिया, थानपोखरी मावी ज्यामिरेका ७२ जना र क्याम्पसतर्फ ज्योती जनता क्याम्पस सातधारे र नारद आदर्श शिक्षा क्याम्पस बसहाका ३३ जनागरी १०५ जनालाई छात्रबृती रकम प्रदान गरिएको उनले बताएका छन् । जेहेन्दार, विपन्न बिद्यार्थी छात्रबृती वितरण कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ तथा क्याम्पसमा अध्ययनरत एकल महिला, दलित, मुश्लिम, लोपोन्मुख जनजाती, जेहेन्दार र विपन्न बर्गका बिद्यार्थीहरुको पहिचानगरी छात्रबृती प्रदान गरिएको कुवँरले बताएका छन् । नगर प्रमुख कालुमान लामा, वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख कुवँर लगायतले बिद्यार्थीहरुलाई छात्रबृती वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले आर्थिक अभावमा कोही पनि बालबालिका पठाईबाट बन्चित नहोउन भन्ने उदेश्यले नगरपालिकाले नीतिगत निर्णय गरेर गत बर्षदेखी नै जेहेन्दर र विपन्न बर्गका बिधार्थीहरुलाई छात्रबृती वितरण गरेको जानकारी दिएका थिए । उनले देशलाई समृद्ध बनाउनका लागि शैक्षिक ब्यक्ति निर्माणका लागि नगरपालिकाले लगानी गरेको हुनाले छात्रवृत्ति रकमको उच्चतम सदुपयोग गर्न आग्रह गरेका थिए । पढ्न चाहने विद्यार्थीहरुलाई सहयोग गर्न नगरपालिका सदैव तत्पर रहेको उल्लेख गर्दै नगर प्रमुख लामाले बिद्यालयदेखी स्नातक तहसम्मको पढाईमा नगरपालिकाले छात्रबृती दिएर पढाउने बताएका थिए । नगरको शैक्षिक समुन्नतीको निम्ति सबैलै आ आफ्नो क्षेत्रबाट साथ सहयोग गर्नुपर्ने लामाको धारणा थियो । कार्यक्रमलाई नगर प्रवक्ता प्रकाश राउत, चौदण्डीगढी नगर शिक्षक संगठनका अध्यक्ष द्रोण दाहालले समेत सम्बोधन गरेका थिए । कार्यक्रममा बिद्यालयलाई प्रबिधिमैत्री बनाउने उदेश्यले ५ वटा बिद्यालयलाई ल्यापटप पनि वितरण गरिएको थियो । गत बर्ष पनि नगर शिक्षा शाखाले ८६ जना बिद्यार्थीहरुलाई छात्रबृती रकम वितरण गरेको थियो ।