चौदण्डीगढी नगरपालिकाका ग्रामिण बजारमा समेत बजार अनुगमन तिव्र ।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा ग्रामिण बजारमा समेत बजार अनुगमनलाई तिव्र पारिएको छ । पालिकाको मुख्य बेल्टार बजार लगायत हडिया, बसहा, सिवाई, विरेन्द्र बजार लगायतका ग्रामिण बजारहरुमा पनि बजार अनुगमनलाई तिव्र पारिएको हो । ग्रामिण क्षेत्रमा रहेका बजारहरुमा अखाद्य बस्तुको बेचविखन हुने गरेको, उपभोग मिति गुज्रेका खाद्यान्य तथा पेय पदार्थको बेचखिन हुने गरेको, सम्बन्धित निकायमा दर्ता नभै ब्यापार, पसलहरु संचालन भैरहेको लगायतका गुनासाहरु आएपछि नगरपालिकाले ग्रामिण बजारका पसलहरुमा समेत अनुगमनलाई तिव्र बनाएको नगर सामाजिक शाखा प्रमुख नवराज वरालले जानकारी दिएका छन् ।

गत जेठ १३ गते वडा नम्बर ६ को बेल्टार बजारबाट अनुगमन शुरु गरेको नगरपालिकाको अनुगमन टोलीले हडिया, बसहा, भोर्लेनी, वडा नम्वर ७ को हाङ्गबजार, नगरपालिका क्षेत्र वरिपरीका पसलहरुको अनुगमन गरिसकेको छ भने विरेन्द्र बजार, सिवाई, सुन्दरपुर, चौदण्डी, रानीटार लगायतका ग्रामिण बजारहरुको समेत चाडै अनुगमन गरिने वरालले जानकारी दिएका छन् । अनुगमनका क्रममा झण्डै २५ हजार रुपैयाँभन्दा बढीका म्याद गुज्रिएका अखाद्य चाउचाउ, विस्कुट, चिप्स, पिठो, कोक, फेण्टा जफत गरी नष्ट गरिएको र अखाद्य तथा म्याद गुज्रिएको सामाग्री विक्रीवितरण गर्ने ब्यापारीलाई निमय विपरितका कार्य नगर्न चेतावनी दिइएको छ । एता हडिया बजारको अनुगमनको क्रममा धेरैजसो पसलहरु बन्द भेटिएकोले त्यसलाई नोटिसमा लिएको अनुगमन टोलीका संयोजक श्रीकान्त चौधरीले बताएका छन् ।

अनुगमन टोलीमा नगरपालिकाको विभिन्न शाखाका कर्मचारी, बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष, चौदण्डीगढी बजार ब्यबस्थापन समितिका प्रतिनीधि, ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएका प्रहरी, नगर प्रहरी, पत्रकार र संचारकर्मीको सहभागिता रहेको छ । नगरपालिकाले यसअघि दशैतिहार जस्ता चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने गरेकोमा त्यसमा सुधार गर्दे अन्य समयमा पनि बजार अगुगमनलाई तिव्रता दिएको छ । निरन्तरको बजार अनुगमनले पहिलकोभन्दा धेरै सुधार देखिएको संयोजक चौधरीले बताएका छन् । उनले पसलहरुमा पहिलेजस्तो म्याद गुज्रेका सामाग्री धेरै नभेटिएको पनि बताएका छन् ।