चौदण्डीगढी नगरपालिका पुर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा ।

उदयपुरको चौदण्डीगढी नगरपालिका पुर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा भएको छ । नगर प्रमुख कालुमान लामाको प्रमुख आतिथित्यतामा विहिवार सम्पन्न एक कार्यक्रमको विच नगरपालिकालाई पालिकास्तरीय पुर्णखोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको हो । सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा चौदण्डीगढीका शाखा उप प्रमुख हिमालय पौडेलले जानकारी दिएका छन् । राष्ट्रिय खोप तालिका अनुसार नगरका १० वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो । नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिनामा नियमित खोपको घरभेट सर्वेक्षण गर्ने, उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
भविष्यमा लाग्न सक्ने रोगबाट बचाउनका लागि तथा बच्चाको शारीरिक स्वास्थ्यलाई सुरक्षित राख्ने उद्देश्यले रोग प्रतिरोधात्मक क्षमता विकास गर्न र विभिन्न रोग लाग्न नदिनका लागि खोपहरु दिइन्छ । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार बच्चा जन्मेदेखि दुई वर्षमुनिका बालबालिकालाई लहरे खोकी, भ्यागुते रोग, धनुषटङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इनफ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा–रुबेलालगायत ७ प्रकारका रोगबाट बचाउन निःशुल्क खोप दिइन्छ ।
पुर्ण खोप कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले स्वास्थ्यकर्मीको अधक प्रयासले पुर्ण खोप पालिका घोषणा गर्न पाएकोमा खुशी ब्यक्त गर्दै धन्यवाद दिएका थिए । उनले स्वास्थ्य जस्तो संवेदनसिल क्षेत्रमा काम गर्ने भएकोले सोही अनुसारको जिम्मेबारी बुझेर कार्य गर्न आग्रह गरेका थिए । यस्तै सबै कर्मचारीहरुलाई स्वास्थ्य विमा गर्नका लागि समेत नगर प्रमुख लामाले अनुरोध गरेका थिए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख मणिकादेवी दुलालले पहिलेको अबस्थाभन्दा अहिले स्वास्थ्य क्षेत्रको अबस्था राम्रो हुदै गएको बताउदै खोप कै कारण मातृ तथा शिशु मृत्युदर घटाउन सफल भएको जिकिर गरेकी थिईन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर चिरञ्जीवी निरौलाले खोपले संक्रामक रोगहरुबाट बचाउने र मृत्युदर घटाउने मात्र नभएर बैदेशिक रोजगारी तथा अध्ययन लगायतका कार्यका लागि विदेश जान खोप कार्ड अनिवार्य रहेको बताएका थिए । उनले खोप कार्ड सुरक्षितरुपमा राख्नुपर्ने बताएका थिए । चौदण्डीगढीमा ५ बर्षमुनीका ४ हजार ३ सय ५२ जना बालवालिकालाई खोपको दायरामा ल्याइएकोे सोक्रममा जानकारी गराइएको थियो ।