राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्षमा उदयपुरका राकेश राईको चर्चा ।

 

नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्षमा उदयपुरका राकेश राईको चर्चा रहेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का राई पोखरामा आगामी जेठ ९ देखि ११ गतेसम्म हुने १०औँ महाधिवेशनमा उपाध्यक्ष पदमा उठ्ने चर्चा भएको हो ।

आगामी महाधिवेशन नजिकिँदै गर्दा उपाध्यक्ष पदका लागि राकेश राई सशक्त र बलियो दाबेदारको रूपमा अग्रपंक्तिमा देखिएका छन्। यद्यपि, राई स्वयंले उम्मेदवारीकोे घोषणा गरेका छैनन् भने संगठनभित्र उनकोे लामो समयदेखी योगदान, अनुभव र नेतृत्व क्षमताका आधारमा उपाध्यक्षमा उनको नाम अगाडी आएको छ । राईले नेतृत्वको लागि साथीभाईहरुसंग छलफल गरिरहेको र सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने बताउदै आफ्नो उम्मेदवारी घोषणा नगरेको बताउदै घुमाउरो पारामा नेतृत्वको दावी गरेका छन् । युवा संघको अन्तर जिल्ला अध्यक्षको जिम्मेवारीबाट संगठनमा प्रवेश गरेका राई केन्द्रीय सदस्यमा चयन हुँदै राष्ट्रिय तहमा स्थापित भएका छन् । त्यस यता युवा संघको जिल्ला ईन्चार्ज ,प्रदेश सह–ईन्चार्ज ,सचिवालय सदस्य हुँदै हाल केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा छन्। राईले विभिन्न जिम्मेवारीमा रहँदा देखाएको बैचारिक परिपक्वता, संगठनप्रतिको निष्ठा, र नेतृत्व क्षमताले उनलाई संगठनभित्र विश्वासिलो र प्रभावशाली व्यक्तित्वको रूपमा स्थापित गराएको धेरैको भनाई छ ।

पोखरामा ३ दिनसम्म चल्ने महाधिवेशनले ९ पदाधिकारीसहित १५१ सदस्य केन्द्रीय कमिटीको चयन गर्नेछ भने केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिलाको सुनिश्चिता गर्ने संघले जनाएकोे छ । पदाधिकारी १० भन्दा कम बनाउने एमालेको नीतिबमोजिम यो महाधिवेशनबाट १७ जना रहेको पदाधिकारी ९ जनामा झर्नेछ भने केन्द्रीय कमिटी पनि ३२९ सदस्यीयबाट १५१ सदस्यीय बनाउन लागिएको छ । यही जेठ ९ देखि ११ गतेसम्म पोखरा सभागृहमा हुने अधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने जनाइएको छ ।