चौदण्डीगढी नगर बजार ब्यबस्थापन तथा विकास समितिको कार्यालय उद्घाटन।

चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नगर बजार ब्यबस्थापन तथा विकास समितिको कार्यालय उद्घाटन गरेका छन् । बेल्टार बजारस्थित तरकारी तथा फलफुल बजारमा रहेको कार्यालयको नगर प्रमुख लामाले आज एक कार्यक्रमकोविच उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन भएसंगै बजार ब्यबस्थापन तथा विकास समितिका पदाधिकारीले समेत पदभार ग्रहण गरेका छन् ।

नगरपालिकाको बोर्ड बैठकले संचारकर्मी समेत रहेका सन्तोष रौनियारको अध्यक्षतामा केही दिन अघि मात्रै समितिको पुर्ण गठन गरेको थियो । नेकपा एमाले नगर अध्यक्ष समेत रहेका तत्कालिन बजार ब्यबस्थापन समितिका अध्यक्ष विकास वन्जराले कार्य ब्यस्ताका कारण राजीनामा दिएपछि रौनियारको अध्यक्षतामा समिति पुर्ण गठन गरेको हो । समितिका सदस्यहरुमा वडा नम्बर ६ बेल्टारका समाजसेवी भोलाचन्द्र राई , समाजसेवी रमेश प्रधान, युवा ब्यबसायी अखिलेश गुप्ता, वडा नम्बर ७ का पुराना ब्यबसायी तथा बेल्टार बसहा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष दिनेश श्रेष्ठ, वडा नम्बर ४ का युवा ब्यबसायी दिपक राई र वडा नम्बर १० की समाजसेवी उर्मिला कार्की सदस्य रहेका छन् । समितिलाई नगरपालिका क्षेत्र अन्तर्गतका बजारहरुको ब्यबस्थापन, सौन्दर्यकरण तथा फोहरमैला ब्यबस्थापन लगायतको जिम्मेबवारी दिईएको छ ।