चौदण्डीगढीमा डकर्मी तालिम लिएका ४० जनालाई प्रमाणपत्र प्रदान ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाले डकर्मी तालिम लिएका ४० जनालाई प्रमाण पत्र प्रदान गरेको छ । चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोग र पिरामिड टेक्निकल ईन्सिच्युट प्राली ईटहरीको प्राविधिक सहयोगमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गत फागुन ११ गतेदेखी बैशाख २ गतेसम्म संचालित कार्यस्थलमा आधारित सिप, क्षमता विकास तालिम जीवन उपयोग सिप तालिम अन्तर्गत डकर्मी विषयमा तालिम लिएकाहरुलाई नगर प्रमुख कालुमान लामाले प्रमाण पत्र प्रदान गरेका छन् । तालिममा पुरुष १९ जना र महिला २१ जनागरी ४० जना सहभागी रहेको र उनीहरुलाई पिरामिड टेक्निकल ईन्सिच्युटको प्राबिधिक सहयोगमा ५० दिनको तालिम प्रदान गरिएको रोजगार सेवा केन्द्र चौदण्डीगढीका प्रमुख अर्जुन बस्नेतले जानकारी दिएका छन् ।

आज बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख लामाले नगरपालिकाले श्रम डेक्सको स्थापना गरेर बेरोजगारीको समस्या हल गर्ने बताउदैे नगरपालिकाले तालिम लगायतको ब्यबस्था गरेर मजदुरको श्रमको सम्मान गर्ने बाताबरण बनाउने बताएका थिए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख मणिकादेवी दुलालले बैदेशिक रोजगारीमा जाँदा पनि तालिमबाट पाएको प्रमाणपत्रले राम्रो काम पाउन सहयोग मिल्ने तथा स्वदेशमै पनि रोजगारी गरेर जिविकोपार्जन गर्न सहज हुने बताएकी थिईन् । उनले तालिम अनुसारको क्षमता भने देखाउनुपर्ने आबश्यक्ता रहेकोमा जोड दिएकी थिईन् ।

यस्तै कार्यक्रममा आफ्नो अनुभव साझा गर्दै तालिममा सहभागी बेल्टारका बद्री थापाले डकर्मी तालिमले आफुहरुको क्षमतामा बृद्धी भएको र तालिमले शिप विकास भएको जिकिर गर्दै नगरपालिका र वडा कार्यालयले गर्ने विकास निमार्णका कामहरुमा आफुहरुलाई सरिक गराउनुपर्ने बताएका थिए ।