विकास बन्जराको संयोजकत्वमा चौदण्डीगढीमा स्थानीय भुमि ब्यबस्थापन आयोगको गठन ।

 

विकास बन्जराको संयोजकत्वमा उदयपुरको चौदण्डीगढी नगरपालिकामा स्थानीय भुमि ब्यबस्थापन आयोगको गठन भएको छ । नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा आज आईतबार बसेको कार्यपालिका बैठकले भूमि ब्यबस्थापन कार्यविधि २०८२“ पारित गर्दै बन्जराको संयोजकत्वमा स्थानीय भुमि ब्यबस्थापन आयोग“ गठन गरेको हो । यसअघि बैशाख १९ गते नगरपालिकाको १८ औं नगरसभाले “स्थानीय भूमि ब्यबस्थापन ऐन–२०८२“ परिमार्जन सहित पास गरेको थियो । आयोगको सदस्यहरुमा बसहाका अग्नी राई र हडियाका किशोर खत्री सदस्य रहेका छन् । आयोगमा नगर कार्यपालिकाको बोर्डले निर्णय गरे बमोजिमको अध्यक्ष , नगर कार्यपालिकाले तोकेको १ महिला सहित सदस्य ४ जना , मालपोत कार्यालयका प्रमुख वा निजले तोकेको कर्मचारी, नगर नापी प्रमुख , नगर कार्यपालिकाको बिषयगत समितिको संयोजक पदेन सदस्य रहने प्रावधान छ भने सम्बन्धित विभाग÷शाखाको प्रमुख सदस्य सचिव रहने ब्यबस्था छ । यस्तै आयोगले आवश्यकता परेको खण्डमा बिशेषज्ञ सेवा लिन आमन्त्रित सदस्यको रुपमा जुनसुकै ब्यक्ती वा संस्थालाई आमन्त्रण गर्न सक्ने प्रावधान रहेको छ ।
आयोगले नगर कार्यपालिका क्षेत्र भित्रको सरकारी, सार्वजनिक जग्गाको अभिलेख तयार गर्ने, भु–उपयोग नीति २०७२ अनुसार कृषि, आवासिय, व्यवसायिक, औद्योगिक, खानि तथा खनिज, सांस्कृतिक तथा पुरातात्वीक, नदि तथा ताल तलैया, वन, सार्वजनिक उपयोग तथा खुल्ला, निर्माण सामाग्री उत्खनन् लगायत क्षेत्र छनौट गरी नगर कार्यपालिकालाई नगर क्षेत्र भित्रका जग्गा व्यवस्थापनका लागि सिफारीस गर्ने, आवास क्षेत्रमा बसोवास गरिरहेका सुकुम्वासी घर परिवारलाई जग्गा भोगाधिकार–पत्र वितरण गर्ने, सार्वजनिक महत्वका परम्परागत, धर्म, जात जातिले मानि आएका धार्मिक संस्था, मठ मन्दिर, समाधि स्थल, गुठी, चर्च, गुम्वा, मस्जीद, ग्रामथान, माङखिम, ट्रष्ट आदिलाई संस्थाको नाममा यस अघि देखि भोगमा रहेका जग्गाको हकमा निश्चित मापदण्ड तोकी जग्गा भोगाधिकार पत्र दिने, यस अघि सरकारबाट गठित विभिन्न आयोग, समिति, नापी टोली, विशेष नापीले भोगको आधारमा दिएका श्रेष्ता पुर्जा, फिल्ड र नक्सा सँग मेल खाए नखाएको एकिन गरी कार्यान्वयनको लागि सिफारीस गर्ने, साविक फिल्डवुक दर्ता भएको र हालसम्म अविच्छिन्न भोगमा रहेका जग्गाको भोगाधिकार पत्रे दिने, विभिन्न सार्वजनिक स्थल, खेल मैदान, वनभोज स्थल, वनवाटिका आदिको नक्साङ्कल गरी अभिलेख तयार गर्ने जस्ता कार्यक्षेत्र आयोगलाई रहेको छ ।

नगरमा पुस्तैदेखीको भुमीहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यबस्थित बसोबासीको समस्या ज्युकात्यु रहेको बताउदै नगर प्रमुख लामाले आफ्नो कार्यकालमा सके लालपुर्जा नभएपनि भोगाधिकार पुर्जा दिने उदेश्यले आयोगको गठन गरी तिव्ररुपमा काम गर्न निर्देशन दिएको जानकारी दिएका छन् । भुमी सेवा केन्द्र चौदण्डीगढीका प्रमुख यज्ञराज श्रेष्ठका अनुसार चौदण्डीगढी नगरपालिकामा ५३४ भुमीहीन दलित, १४०७ भुमिहीन सुकुम्बासी र ११,३५३ अब्यबस्थित बसोबासी गरी जम्मा १३, ३१४ कित्ताको गरी ७१, १७० कठ्ठा जमिन नापजाँच गर्नुपर्ने छ । जसमध्ये वडा नं ३ , वडा नम्बर ४ र वडा नम्बर १० मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले भोगचास गरी आएको ऐलानी जग्गाको नापी सम्पन्न भैसकेको छ । जसमा फिल्ड मुचुल्का, कित्ता विवरण र तीन पुस्ते विवरण तयारी गरिएको छ भने वडा नम्बर २ , वडा नं ७ र वडा नम्बर ९ मा निरन्तर नापी भइरहेको छ प्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।