९ महिनामा चौदण्डीगढी नगरपालिकाकोे पुँजीगत खर्च ३७ प्रतिशत मात्रै ।

 

आर्थिक बर्ष शुरु भएको ९ महिनामा चौदण्डीगढी नगरपालिकाले पुँजीगत खर्च ३७ प्रतिशत मात्र गरेको छ । आर्थिक वर्ष सकिन ३ महिना मात्र बाँकी रहँदा नगरपालिकाले पुँजीगत बजेट ३७.०६ प्रतिशत खर्च गरेको लेखा शाखा प्रमुख महेश रानामगरले जानकारी दिएका छन् ।

नगरपालिकाले चालुवर्षका लागि विनियोजन गरेको पुँजीगत बजेट २२ करोड ३२ लाख ३५ हजार २ सय ६४ रुपैँयामध्ये ८ करोड २७ लाख ३१ हजार ७ सय ९४ रुपैँया खर्च गरेको लेखा प्रमुख मगरले बताएका छन् । चालु खर्चतर्फ भने नगरपालिकाले ६४.१८ प्रतिशत खर्च गरिसकेको छ । आर्थिक बर्ष २०८१/८२ का लागि नगरपालिकाले चालु खर्चका लागि विनयोजन गरेको ५८ करोड ६० लाख ४ हजार ३ सय ९६ रुपैँयामध्ये चैत मसान्तसम्म ३७ करोड ६१ लाख १४ हजार ९५ रुपैँया खर्च भएको मगरले जानकारी दिएका छन् । समग्रमा चालु आर्थिक बर्षको ९ महिनामा ४५ करोड ८८ लाख ४५ हजार ८ सय ९० अर्थात ५६.७ प्रतिशत खर्च भएको मगरको भनाई छ । आर्थिक बर्ष २०८१/८२ का लागि नगरपालिकाको नगरसभाले ८० करोड ९२ लाख ३९ हजार ६ सय ६० रुपैँयाको अनुमाननित बजेट पारित गरेको थियो । आर्थिक वर्ष सकिन ३ महिना मात्र बाँकी रहँदा नगरपालिकाले पुँजीगत बजेट ३७.०६ प्रतिशत मात्र खर्च भएकोबाट असार मसान्त नजिकिएपछि हतार हतार बजेट खर्च गर्ने रोग फेरी पनि देखा परेको छ । यसले एकातिर काम गुणस्तरीय नहुने तथा अर्कातिर जनताको पसिनाबाट सङ्कलित राजश्व रकमको दुरुपयोग हुने खतरा रहेको छ । ।

नगरको गौरवका योजनाहरु तथा प्रदेश र संघ सरकारबाट प्राप्त ठुला योजनाहरुको काम भैरहेको तर काम सम्पन्न नभएकोले भुक्तानी नभएको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताएका छन् । हाल उपभोक्ता समितिबाट भएका तथा साना योजनाहरुको कामको भुक्तानी मात्र भएकोले पुँजीगत खर्च कम देखिएको बताउदै प्रमुख प्रशासकीय अधिकृत राईले बैशाख महिनासम्ममा धेरै योजना सम्पन्न हुने भएकोले पुँजीगत खर्च उच्च हुने जिकिर गरेका छन् ।

एता नगर प्रमुख कालुमान लामाले नगरले यस आर्थिक बर्षमा सडक पुर्वाधार विकासमा जोड दिएको तथा नगरको १० बटै वडामा कालोपत्रे सडक निमार्ण तथा ग्रामिण सडक स्तरोन्नतीलाई नगरको गौरवको योजनाको रुपमा समेटेको उल्लेख गर्दै सडक पुर्वाधार, सिचाईका योजनाहरुको काम भै रहेको बताएका छन् । उनले यस बर्ष कार्यन्वयन गरिने सबै योजनाहरुको ठेक्का आवहान भैसकेको जानकारी दिदै आर्थिक बर्षको अन्तसम्ममा सतप्रतिशत नै पुँजीगत खर्च हुने दावी गरेका छन् ।