भोगाधिकार पुर्जा दिने चर्चासंगै चौदण्डीगढीमा ऐलानी जग्गा नापजाँचको काममा तिव्रता ।

 

भोगाधिकार पुर्जा दिने चर्चासंगै चौदण्डीगढी नगरपालिकामा ऐलानी जग्गा नापजाँचको कामले तिव्रता पाएको छ । नगर प्रमुख कालुमान लामाले केही दिन अघि नगरमा रहेका भुमीहिन दलित, भुमीहिन सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुको समस्या समाधान गर्नका लागि नगरस्तरीय भुमी आयोगको गठन गरेर उनीहरुले चासबास गरेर उपभोग गरिरहेको जग्गा उल्लेख हुनेगरी भोगाधिकार पुर्जा दिने बताएका थिए । नगर प्रमुख लामाले आफ्नो कार्यकालमा राष्ट्रियभुमी आयोगबाट उनीहरुलाई सके लालपुर्जा दिलाउने, नसके नगरबाट भए पनि भोगाधिकार पुर्जा वितरण गर्ने बताएका थिए । सोही अनुसार नगर प्रमुख लामाले नगरस्तरीय भुमी आयोग पनि गठन गरेका छन् ।

यसैबिच नगर प्रमुख लामाको निर्देशनमा भुमी सेवा केन्द्र चौदण्डीगढीले नगरको १० बटै वडामा रहेको ऐलानी जग्गाको नापजाँच गर्ने प्रक्रियालाई तिव्र बनाएको छ । भुमी सेवा केन्द्र चौदण्डीगढीका प्रमुख यज्ञराज श्रेष्ठका अनुसार चौदण्डीगढी नगरपालिकामा ५३४ भुमीहीन दलित, १४०७ भुमिहीन सुकुम्बासी र ११,३५३ अब्यबस्थित बसोबासी गरी जम्मा १३, ३१४ कित्ताको गरी ७१, १७० कठ्ठा जमिन नापजाँच गर्नुपर्ने रहेको छ । जसमध्ये वडा नं ३ , वडा नम्बर ४ र वडा नम्बर १० मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले भोगचास गरी आएको ऐलानी जग्गाको नापी सम्पन्न भैसकेको छ । जसमा फिल्ड मुचुल्का, कित्ता विवरण र तीन पुस्ते विवरण तयारी गरिएको छ भने वडा नम्बर २ , वडा नं ७ र वडा नम्बर ९ मा निरन्तर नापी भइरहेको छ । अहिले वडा नम्बर २ को सुघारे, वडा नम्बर ७ को बेल्टार सुन्दरहाईट र वडा नम्बर ९ को राजाबास क्षेत्रमा नापजाँचको काम भै रहेको र वडा नं ५ को मित्र टोलमा नापी प्रक्रिया अगाडि बढाइएको प्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गाराज राईको अध्यक्षता र आयोगका विज्ञ सदस्य दिलबहादुर तामाङ, महिला सदस्य सम्झना राईको उपस्थितमा हिजो विहिवार वडा नम्बर ४ बसहामा आयोजित छलफल कार्यक्रममा विगतका आयोग कार्यदल समितिहरूले गरेका कामहरू लाई पूर्णता दिन यसअघि नै अनुसूचि २ निवेदन फारम भरि सूचना प्रकाशन भइसकेका निवेदकहरूको हकमा अबको केही समय भित्रै वडा नम्बर ४ मा भोकपुष्टिको लागि स्थलगत सरजमिन गर्न जिल्ला आयोगले टोली खटाउने जिल्ला भुमी आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङ्गले जानकारी गराएका छन् । यसअघि गत बर्ष चौदण्डीगढी नगरपालिका वडा नम्बर २ स्थित झोडापाटा र चारघरे बस्तीका २८ घर भूमिहिन दलित , भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको थियो ।