उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को बजेट निमार्णका लागि सरोकारवालाहरुसंग सुझाव संकलन गरिरहेको छ । सुझाव संकलन कार्य नगरको १० बटै वडामा रहेका टोल विकास संस्थाहरुबाट शुरु गरिएको छ । वडा कार्यालयहरुसंगको समवन्यमा नगरपालिकाले टोल विकास संस्था, स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनीधिसंग स्थानीय आबश्यक्ताको पहिचान गरी योजना छनौट गर्न पहिलो पटक यस प्रकारको कार्य गरिएको नगरपालिका श्रोतले बताएको छ । नगरमा रहेको २०६ वटै टोल विकास संस्थाका प्रतिनीधि र स्थानीय सरोकारवालाहरुसंग छलफल गर्न नगरपालिकाले सम्बन्धित वडा कार्यालयमा बैठक बसी कार्यक्रम गरिरहेको छ। हलसम्म २,३,४,५,६,७ र १० नम्बर वडा कार्यालयमा सुझाव संकलन कार्य सम्पन्न भैसकेको छ भने बाँकी वडाहरुमा पनि कार्यक्रम आयोजना गर्ने नगरपालिकाले जनाएको छ ।
टोलसम्म नै विकास निमार्णका कार्यलाई लैजान तल्लो तहमै पुगेर आबश्यक्ता पहिचान गर्नुपर्ने महसुस भएकोले टोल विकास संस्था लगायत सरोकारवालाहरुसंग छलफल गरिएको नगर प्रमुख कालुमान लामाले बताएका छन् । एउटा पद्धतीबाट वजेट निमार्ण हुनुपर्छ भन्ने मान्यताले छलफल शुरु गरिएको बताउदै नगर प्रमुख लामाले नेता वा जनप्रतिनीधि अथवा उनीहरुसंग निकट रहेकाहरुलाई मन लागेको ठाँउमा वजेट विनयोजन गर्ने परिपाटीको अन्तय गरेर स्थानीयको सहभागितामा बजेट निमार्ण गर्न नगरमा पहिलो पटक छलफल शुरु गरिएको दावी गरेका छन् । नगर प्रमुख लामाले स्थानीय आबश्यक्ताको पहिचान गरेर स्थानीय योजना बैंक बनाउने र योजनाहरु त्यहीबाट छनौट गरेर कार्यवन्यन गरिने बताएका छन् । उनले आफुहरुको टिम निर्वाचित भएर आएपछि नगरपालिकाले ३ बर्षमा शिक्षा, स्वास्थ्य, कृषी, खानेपानी, सिंचाई, भौतिक पुर्वाधारका क्षेत्रमा गरेका राम्रा कामहरुको प्रतिफल देखिन थालेको दावी गर्दै मध्यावधि समिक्षा अबधीमा नगर र वडा कार्यालयले गरेको कामहरुको मुल्यांकन गर्न पनि आग्रह गरेका छन् । त्यस्तै नगर प्रमुख लामाले नगरपालिकाले भुमीहिन दलित, सुकुमबासी र अब्यबस्थित बसोबासीको समस्या समाधान गर्न नगर नापी शाखाका कर्मचारीहरुलाई जग्गा नापजाँच गर्न लगाईरहेको र उनीहरुलाई आफ्नै कार्यकालमा सके लालपुर्जा नभए उनीहरुले भोगचास गरेको जग्गा उल्लेख हुनेगरी भोगाधिकार पुर्जा उपलब्ध गराउने बताएका छन् ।
कार्यक्रममा नगर योजना नीति तथा कार्यक्रम तर्जुमा समितिका सदस्य किशोर ताम्राकारले नगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ को बार्षिक वजेट निमार्णका लागि प्रारम्भिक चरणमा सम्बन्धित सरोकारवालाहरुसंग छलफल गरी राय, सुझाव संकलन गर्न कार्यक्रम गरिएको बताउदै स्थानीयको योजना प्राथमिकरण गरेर वजेटमा समाबेश गरिने जानकारी दिएका छन् । सहभागीहरुले पहिलो पटक टोल विकास संस्थाका प्रतिनीधिहरु र तल्लो तहका सरोकारबालाहरुसंग गरिएको छलफलको प्रशंसा गर्दै स्थानीय आबश्यक्ता पहिचानका लागि तत्परता देखाएकोमा खुशी ब्यक्त गरेका थिए । उनीहरुले भौतिक पुर्वाधार निमार्ण, शिक्षा, स्वास्थ्य, खानेपानी, नदी नियन्त्रण, पुल, कलभर्ट निमार्ण लगायत स्थानीय आबश्यक्ताको बिषयमा योजना माग गरेका थिए ।