७ बैशाख २०८२ , सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाको कक्षा ८ का नतिजामा सामुदायिक बिद्यालयका बिद्यार्थी प्रथम भएका छन् । युवा तथा नगर शिक्षा शाखा चौदण्डीगढीले आज प्रकाशित गरेको कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजामा बेल्टार बजारस्थित सामुदायिक बिद्यालय ज्योती मावी का एन्जल मिश्रले संस्थागत बोडिङ्ग स्कुलका बिद्यार्थीलाई पछि पार्दै प्रथम भएका हुन् । मिश्रले ३.९७ जिपिए ल्याएर प्रथम भएको नगर शिक्षा शाखाका शिक्षा अधिकृत सुरज कुमार कार्कीले जानकारी दिएका छन् । संस्थागत बोडिङ्ग स्कुलतर्फ भने पुमा सेकेण्डरी बोडिङ्ग स्कुल बेल्टारकी अभिलाशा गेलाल प्रथम भएको छिन् । गेलालले ३.९४ अंक प्राप्त छिन् । शिक्षा अधिकृत कार्कीका अनुसार एन्जल मिश्र प्रथम, अभिलाशा गेलाल दोश्रो, त्यस्तै ज्योती मावी कै दीक्षा देव ३.९२ अंक ल्याएर तृतीय भएकी छिन् ।
नगर शिक्षा शाखाले आज प्रकाशित गरेको नतिजा अनुसार कक्षा ८ मा ७८.८७ प्रतिशत बिद्यार्थी उतिर्ण भएका छन् । यही चैत्र १५ गतेदेखी २३ गतेसम्म संचालन भएको कक्षा ८ को परीक्षामा नगरमा संचालित ४३ वटा सामुदायिक र संस्थागत बिद्यालयका १ हजार ४१ जना बिद्यार्थी सहभागी थिए । यस बर्ष सामुदायिक बिद्यालयको नतिजा उत्साहप्रद रहेको कार्कीले जानकारी दिएका छन् । वडा नम्बर २ स्थित झोडापाटास्थित सामुदायिक बिद्यालय , कौवेदेवी आधारभुत बिद्यालयको नतिजा सतप्रतिशत रहेको छ भने अधिकांश सामुदायिक बिद्यालयहरुको पनि नतिजा राम्रो रहेको छ । गत बर्ष नगर शिक्षा शाखाले लिएको कक्षा ८ को नगरस्तरीय परक्षामा नगरमा संचालित ८ वटा बिद्यालयबाट एक जना पनि बिद्यार्थी उत्तिर्ण भएका थिएनन् भने धेरै बिद्यालयबाट १ जना मात्र उत्तिर्ण भएका थिए । सामुदायिक बिद्यालयबाट परीक्षामा ७७३ जना सहभागी भएकोमध्ये २३२ जना ,३०.०१ प्रतिशत बिद्यार्थी मात्र उत्तिर्ण भएका थिए । यस बर्ष प्रकाशित नतिजा पनि सिवाई , सुन्दरपुर क्षेत्रका सामुदायिक बिद्यालयको नतिजा भने निराशाजनक नै रहेको छ । आधरभुत बिद्यालय वेल्हाबाट २१.४३ प्रतिशत, शिव मावी सुन्दरपुरबाट १४.८१ र श्रीमावी सिवाईबाट ३३.३३ प्रतिशत बिद्यार्थी मात्र उतिर्ण भएका छन् । यद्यपी गत बर्ष नतिजामा शुन्य भएका यी बिद्यालयहरुले यस बर्ष भने सुधार गरेका छन् ।
नगरमा संचालित बिद्यालयको नतिजा कमजोर भएपछि नगर प्रमुख कालुमानले सबै बिद्यालयहरुको निरिक्षण गरेर शिक्षा सुधारका लागि निर्देशन दिएका थिए । राजनीतिका लागेका शिक्षक कर्मचारीलाई स्पष्टीकरण सोध्नेदेखी सरुवा समेत गरिएको थियो । नगरपालिकाको अथक प्रयासमा गत बर्षभन्दा यस बर्षको नतिजा राम्रो ल्याउन सफल भएको नगर प्रमुख लामाले बताएका छन् । उनले नगरमा संचालित सबै बिद्यालयमा दरबन्दीअनुसारको शिक्षकको ब्यबस्था, बिद्यालयहरुको भौतिक पुर्वाधारमा सहयोग, १० बर्षे शिक्षा नीति नै ल्याएर त्यसको कार्यवन्यन गरिएको बताउदै यसले बिद्यालयहरुका पढ्ने पढाउने बातावरण बनेको दावी गरेका छन् ।