५ बैशाख २०८२ , सन्तोष कुमार रौनियार…
जेनी एण्ड फ्रेन्डस् अमेरिका, सुन्दर ढोका साथी सेवा ललितपुर, करुणा फाउण्डेशन र स्पाईनल ईन्जुरी संघ कोशी प्रदेशको सहयोगमा उदयपुरको चौदण्डीगढी नगरपालिकाका १० जनाले निःशुल्क व्हीलचियर प्राप्त गरेका छन् । शिवाईका हिमाल मगर, अमिनीखर्कका हिरा खड्का, सिवार्नीका जर्नल माझी, लाफा चौक बेल्टारका रुद्र मगर, आदर्श चौक बेल्टारका मिलन तामाङ्ग, यस्तै गंगटेका दिल बहादुर कार्की, कुसुमटारकी अनुस्का राई, सिर्वानीकी देवमाया खत्री, घप्पडका बलराम राई र सिवाईकी अम्बिका विष्टले निःशुल्क व्हीलचियर प्राप्त गरेको चौदण्डीगढी नगर महिला तथा बालविकास शाखाकी प्रमुख ऐन्जिला ढकालले जानकारी दिएकी छिन् । नगरपालिकाको सहयोगमा लाभग्राहीहरुलाई हिजो सुनसरीको ईटहरीमा रहेको पुर्वाञ्चल अपाङ्ग र असहाय सेवा केन्द्र पठाइएको थियो । उनीहरुको शारिरिक आबश्यक्ता अनुसारको व्हीलचियर निमार्ण गरी उनीहरुलाई उपलब्ध गराईएको ढकालले बताएकी छिन् ।
नगर प्रमुख कालुमान लामाले हिजो बिहान स्पाईनल ईन्जुरी भै अपाङ्गता भएकाहरुलाई नगरपालिकाले उपलब्ध गराएको बसमा विदाई गरेका थिए । हिडडुलका लागि सहायक सामाग्रीको रुपमा अपाङ्गता भएकाहरुलाई स्पाईनल ईन्जुरी संघ कोशी प्रदेश सरकारले स्थानीय र प्रदेश सरकारसंग समवन्य गरेर व्हीलचियर वितरण गरेको हो ।