२२ चैत्र २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकाले सडक किनारमा रहेको ढलभन्दा बाहिर सामान राख्नेलाई कारवाही गर्ने भएको छ । नगरपालिकाले हिजो एक सुचना जारी गर्दै सडकको क्षेत्राधिकारभित्र घर निमार्णका सामाग्री, घरायसी सामान तथा अन्य बिबिध प्रकारका सामाग्रीहरु राख्ने गरेको साथै सडकको ढलभन्दा बाहिर सामान फिजाएर वेचबिखन गर्ने गरेको पाईएको जनाउदै त्यसरी सामाग्री राख्ने तथा ब्यापारिक कार्य गर्नेलाई कारवाही गर्ने जनाएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान राईले यही चैत्र मसान्तभित्रमा त्यस्ता सामाग्रीहरु अनिवार्यरुपमा सुरक्षित स्थानमा लैजान आग्रह गरेका छन् । सुचनाको बर्खिलाप गरेमा त्यस्ता सामाग्रीहरु जफत गरी प्रचलित कानुन बमोजम जरिवाना गराईने समेत सुचनामा उल्लेख गरिएको छ ।
चौदण्डगढी नगरपालिकाको ब्यापारिक तथा प्रशासकिय केन्द्र बेल्टार बजारमा यसरी सडकमै फिजाएर ब्यापार गर्ने तथा सडक अबरोध गरेर निमार्ण सामाग्री राख्ने कार्य सामान्य जस्तै रहेको छ । सडकको मापदण्ड नतोकिदा पनि ब्यापारीहरुले सडकमै सामाग्री राख्ने गरेको पाइएको छ । बेल्टार बजारका केही घरभित्रैबाट ढलको नाली लगिएको छ भने कतिपय स्थानमा सडकको चौडाई कम हुँदा ब्यापारीले घर अगाडीको ढलको स्लायवमाथी नै फिजाएर सामान बेच्ने गरेका छन् ।
